हिम्लुङ हिमालमा हिमपहिरोः १० जना सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर परिचालन

दियोपोस्ट संवाददाता

मनाङ । मनाङको नार्पाभूमि क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमालको आधार शिविरमा आइतबार बिहान गएको हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएका छन् । लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको भारी हिमपातपछि खसेको हिमपहिरोमा परि १० जना पर्यटक सम्पर्कविहिन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा हिमालयन होलिडेज नेपालसँग सम्बन्धित ८ जना र इम्याजिन नेपाल ट्रेक्सका २ जना भान्सा कर्मचारी छन् । उनीहरू हिम्लुङ हिमालको आधार शिविर आसपास रहेका बेला हिमपहिरो खसेपछि सम्पर्कमा आउन नसकेका हुन् ।

हिमपहिरोले आधार शिविरमा रहेका केही टेन्ट पुरिनुका साथै केही बगाएका छन् । यसअघि खराब मौसमको चेतावनी जारी भएपछि हिम्लुङ क्षेत्रमा रहेका अधिकांश आरोही तथा सहयोगी टोली सुरक्षित स्थानतर्फ तल झरिसकेका थिए । तर आधार शिविर क्षेत्रमा रहेका केही व्यक्ति भने त्यहीँ थिए । उनीहरूसँग हिमपहिरोपछि सम्पर्क विच्छेद भएको बताइएको छ ।

घटनापछि उद्धार तथा खोजीका लागि हेलिकप्टर परिचालनको तयारी गरिएको छ । यद्यपि, खराब मौसम र उच्च हिमाली भूगोलका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले घटनाबारे थप विवरण संकलन भइरहेको तथा सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि प्रयास भइरहेको बताएका छन् ।

एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले पनि घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार सम्पर्कविहीनमध्ये दुई जना इम्याजिन नेपालसँग सम्बन्धित छन् भने आठ जना हिमालयन होलिडेज नेपालसँग सम्बन्धित छन् ।

हिम्लुङ हिमाल मनाङको नारफु क्षेत्रमा पर्ने लोकप्रिय आरोहण गन्तव्य हो । यस वर्षको शरद् आरोहणका क्रममा केही टोली खराब मौसमका कारण आरोहण रोक्दै तल झरिसकेका थिए । केही दिनयता हिमाली क्षेत्रमा लगातार हिमपात र देशका विभिन्न भागमा वर्षा भइरहेका कारण उच्च हिमाली क्षेत्रमा जोखिम बढेको छ ।

अहिलेसम्म हिमपहिरोमा मानवीय क्षति भएको आधिकारिक पुष्टि भइसकेको छैन । सम्पर्कविहीन १० जनाको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन् ।

सम्बन्धित खबर