जडीबुटी संकलन गर्न हुम्ला पुगेका मुगुका नौ जना बेपत्ता, हिउँमा एकको मृत्यु

दियोपोस्ट संवाददाता

हुम्ला । जडीबुटी संकलनका लागि हुम्ला पुगेका मुगुका नौ जना स्थानीय अझै सम्पर्कविहीन छन् । चंखेली गाउँपालिका-२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुकी संकलन गर्न पुगेका उनीहरू फर्कने क्रममा बाक्लो हिमपातमा परेपछि सम्पर्कविहीन भएका हुन् ।

घटनामा मुगु कार्मारोङ गाउँपालिका-९ पापुका २२ वर्षीय गणेश बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । घुँडासम्म हिउँ जमेको क्षेत्रमा हिँड्ने क्रममा उनको मृत्यु भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाका अनुसार भदौ २८ गते पापु र छाइलबाट १३ जना कटुकी संकलनका लागि बागेढुंगा पुगेका थिए । सामुदायिक वन उपभोक्ता समितिले कटुकी संकलन गर्न नदिएपछि उनीहरू त्यहाँबाट फर्किएका थिए ।

फर्कने क्रममा बाक्लो हिउँ र प्रतिकूल मौसमका कारण समूहका केही सदस्य सम्पर्कविहीन भएका हुन् । प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय अ‍ेखबहादुर रोकाय अझै सम्पर्कमा छैनन् ।

त्यस्तै छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन छन् । समूहमा रहेका पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आइसकेका छन् ।

विवादपछि हिउँमा हराए

स्थानीयका अनुसार मुगुतर्फबाट जडीबुटी संकलन गर्दै हुम्लाको सीमाक्षेत्रमा पुगेका उनीहरूको हुम्लातर्फका स्थानीयसँग विवादसमेत भएको थियो । असोज १० गते दुई समूहबीच झडप भएको र त्यसपछि मुगुतर्फको टोलीलाई लखेटिएको स्थानीयको दाबी छ ।

यद्यपि झडपको वास्तविक अवस्था, त्यसमा को–को संलग्न थिए र त्यसपछि समूह कुन बाटोबाट फर्किएको थियो भन्ने विषयमा सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार घटनास्थल अत्यन्तै विकट उच्च हिमाली क्षेत्रमा पर्छ । त्यसमाथि लगातारको हिमपातका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको छ ।

डीएसपी थपलियाका अनुसार घटनास्थल पुग्न अग्ला हिमाली क्षेत्र पार गर्नुपर्ने भएकाले प्रहरी टोलीलाई समेत आवतजावतमा समस्या भएको छ । प्रारम्भिक अनुमानमा हिउँबाट जोगिन भाग्ने क्रममा गणेश बुढाको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

खोजी जारी, तर अवस्था अझै अज्ञात
घटनापछि मुगु र हुम्ला दुवैतर्फबाट सुरक्षा निकाय परिचालन गरिएको छ । तर पछिल्लो उपलब्ध सूचनासम्म सम्पर्कविहीन नौ जनाको अवस्था भने यकिन हुन सकेको छैन ।

हुम्लाको चंखेली क्षेत्र जडीबुटीका दृष्टिले महत्वपूर्ण मानिन्छ । हुम्लामा कटुकी, गुच्चीच्याउ, भोल्ते, सेतक चिनी, पाँचऔले र जटामसीलगायत विभिन्न जडीबुटी पाइने गरेको स्थानीय तथा सरकारी विवरणमा उल्लेख छ ।

तर जडीबुटी संकलनका क्रममा जिल्लाको सीमा, सामुदायिक वनको अधिकार र स्थानीय समूहबीच हुने विवाद तथा उच्च हिमाली क्षेत्रमा मौसमको जोखिमका कारण संकलकहरू पटक–पटक संकटमा पर्ने गरेका छन् ।

हालसम्म बागेढुंगा घटनामा भने नौ जनाको अवस्था अज्ञात रेहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर