हुम्लाको मिमि पाटनमा जडीबुटी संकलन गर्न गएका १० जना भेटिए, दुई अझै बेपत्ता

दियोपोस्ट संवाददाता

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित बागेढुंगा सामुदायिक वनको मिमि पाटनमा जडीबुटी संकलन गर्न गएका मुगुका १३ जनामध्ये १० जना सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाका अनुसार उनीहरु आइतबार साँझ सम्पर्कम आएका हुन् ।

कटुको संकलन गर्न गएका मध्ये एक जनाको हिउँमा परेर मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन रहेको डीएसपी थपलियाले जानकारी दिए । मुगुम कार्मारोङ गाउँपालिका-९ पापुबाट कटुको जडीबुटी संकलनका लागि उनीहरू १३ जनाको समूह बनाएर मिमि पाटन पुगेका थिए । लगातार हिमपात भएपछि समूहका केही सदस्य सम्पर्कविहीन भएका थिए ।

सम्पर्कमा आएकामध्ये पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३५ वर्षीय जयबहादुर बढुवाल, छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय रहेका छन् ।

त्यस्तै पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा आइतबार बिहानै सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

डीएसपी थपलियाका अनुसार २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको थियो ।सम्पर्कविहीन हुनेमा सोही गाउँपालिका-९ पापुका ३६ वर्षीय ललितजंग बढुवाल र २६ वर्षीय अंख रोकाय रहेका छन् । उनीहरू सम्पर्कमा नआएको जानकारी गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय मुगुलाई गराएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले बताए । मिमि क्षेत्र हुम्ला र मुगु जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था बुझ्न दुवै जिल्लाका सुरक्षा निकायले खोजी तथा अनुसन्धान गरिरहेका छन् ।

उच्च हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेकाले सम्पर्कविहीन दुई जनाको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मौसम तथा भौगोलिक अवस्थाका कारण खोजी अभियान चुनौतीपूर्ण बनेको बताएको छ ।

सम्बन्धित खबर

सिफारिस