
काठमाडौँ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । बाढी तथा वर्षाजन्य घटनामा ४६ जना घाइते भएका छन् भने एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ ।
लगातारको वर्षाका कारण राज्यका विभिन्न जिल्लामा बाढीको अवस्था गम्भीर बनेपछि राजधानी लखनऊसहित प्रभावित क्षेत्रका विद्यालय सोमबार बन्द गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको अधिकारीहरूले बताएका छन् ।
स्थानीय प्रशासनले जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै तीव्र गतिमा पानी बगिरहेका नदी, खोला तथा नालाबाट टाढा रहन र जोखिमपूर्ण स्थानमा नजान चेतावनी दिइएको छ ।
लखनऊस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बङ्गालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षाको तीव्रता घट्ने अपेक्षा गरिएको छ । उनका अनुसार मंगलबारसम्म उत्तर प्रदेशका पूर्वी तथा पश्चिमी क्षेत्रमा हल्का वर्षा भने जारी रहन सक्नेछ ।
यसैबीच, भारी वर्षा र बाढीको प्रभाव भारतको पूर्वी राज्य ओडिसामा पनि परेको छ । बाढी प्रभावित क्षेत्रबाट ७५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
उत्तर प्रदेश र ओडिसाका विभिन्न क्षेत्रमा बाढीको प्रभाव बढेसँगै स्थानीय प्रशासनले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ ।