
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो र परिवारको जिउज्यानको सुरक्षामा गम्भीर चुनौती रहेको भन्दै प्रहरीसँग सुरक्षाका माग गर्र्द निवेदन दिएका छन् । जबराका तर्फबाट उनका छोरा सचिन्द्र शमशेर जबराले आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा लिखित निवेदन दिएका हुन् ।
निवेदनमा आफ्नो निवास, परिवार र जिउज्यानको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरिएको छ । देशको पछिल्लो अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शान्ति सुरक्षासँग सम्बन्धित विषय सार्वजनिक भइरहेकाले आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको निवेदनमा उल्लेख छ ।
त्यसैगरी, जबराले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारण पनि आफूलाई थप असुरक्षा महसुस भएको जनाएका छन् । आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी रहेको भन्दै निवास तथा परिवारसहित आफ्नो जिउज्यानको सुरक्षामा राज्यको ध्यान पुर्याउन आग्रह गरिएको छ ।
आइतबार मध्यरातमा जबरालाई महाराजगञ्जस्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी टेकुस्थित कार्यालयमा लगेको थियो । तर प्रहरीले भने त्यसलाई ‘पक्राउ’ नभई सुरक्षा निगरानीका लागि टेकु लगिएको बताउँदै आएको थियो । व्याख्या गरेको थियो ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरामाथि आक्रमण हुनसक्ने सूचना आएपछि सुरक्षाका लागि प्रहरी निगरानीमा ल्याइएको बताएका थिए । तर, सुरक्षा खतरा कहाँबाट आएको थियो र त्यसको ठोस आधार के थियो भन्ने प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीले पछि जबरालाई सुरक्षित स्थानमा राखिएको र उनी निवासमै बस्न सहज मानिरहेको अवस्थामा घरमै सुरक्षा उपलब्ध गराउने बताएको थियो ।
घटनाको अर्को महत्वपूर्ण पाटो भनेको जबरालाई प्रहरी कार्यालयमा राखिएको समयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत उनलाई भेट्न पुगेको थियो । तर, प्रहरीले भेट्न नदिएपछि आयोगको टोली करिब ४५ मिनेट गेटमै बसेर फर्किएको थियो । आयोगले प्रहरीको उक्त व्यवहारप्रति आपत्ति जनाएको छ ।
संविधानविद्हरूले पनि सुरक्षा खतरा नै कारण भएको हो भने त्यसको प्रकृति र आधार स्पष्ट हुनुपर्ने प्रश्न उठाएका छन् । सुरक्षा जोखिम थियो भने निवासमै सुरक्षा बढाउन सकिने अवस्था हुँदाहुँदै पूर्वप्रधानन्यायाधीशलाई रातारात प्रहरी कार्यालयमा लैजानुपर्ने कारणबारे उनीहरूले प्रश्न गरेका छन् ।