
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको मुम्बईबाट इन्डिगो एयरको उडान नम्बर ६ ई ११५७ मार्फत आइतबार दिउँसो काठमाडौँ आएका भारतीय नागरिक असलम शौकतलाई पक्राउ गरेको हो ।
शंकास्पद गतिविधिका आधारमा चेकजाँचका क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा प्याक गरी लुकाएर ल्याएको पहेँलो गोलाकार अर्धठोस पदार्थका दुई थान फेला परेको थियो। उक्त पदार्थको तौल ४२२.५ ग्राम रहेको प्रहरीले जनाएको छ।
भन्सार छली अवैध रूपमा ल्याइएको उक्त पदार्थ बरामद गरी शौकतलाई नियन्त्रणमा लिइएको थियो। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
पछिल्लो समय अर्धठोस रूपमा सुनको अवैध तस्करी हुन थालेको देखिएकाले विमानस्थल सुरक्षा कार्यालयले त्यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। अवैध तस्करी नियन्त्रणका लागि विशेष योजना बनाएर सुरक्षा जाँच तथा निगरानीलाई थप प्रभावकारी बनाइएको कार्यालयले जनाएको छ।