
काठमाडौँ । मनाङको नार्पाभूमि क्षेत्रमा पर्ने हिम्लुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमालको आधार शिविरमा आइतबार बिहान हिमपहिरो गएको थियो । हिमपहिरोमा परी आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो भने सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ।
संघका अनुसार मौसमले साथ दिए खोजी टोलीले थप तीनदेखि चार घण्टासम्म खोजी कार्य जारी राख्नेछ । आइतबार फेला परेका दुई जनाको शव काठमाडौँ ल्याइएको जनाएको छ।
यसअघि घटनामा १४ जना किचन स्टाफ र दुई जना आरोहण गाइड गरी १६ जना बेपत्ता भएको बताइएको थियो । तीमध्ये दुई आरोहण गाइडको मृत्यु पुष्टि भएपछि हाल १० जना सम्पर्कविहीन रहेका छन्।