
काठमाडौँ । आगामी तीन दिन देशभरको मौसम पूर्णरूपमा सफा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबारदेखि बुधबारसम्म देशभर आंशिक बदली रहनेछ भने हिमाली तथा पहाडी भू-भागका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ ।
सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
सोमबार राति हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ ।
मंगलबार पनि देशभर आंशिक बदली रहने पूर्वानुमान छ । हिमाली भू-भागका एक–दुई स्थान तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्नेछ । मंगलबार राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बुधबार भने वर्षाको दायरा केही बढ्ने देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी, देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ । कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा समेत मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । यीमध्ये कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान र बागमती तथा गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।