कर्णालीका सांसद राजकुमार शर्माको रिट सर्वोच्चद्वारा खारेज

दियोपोस्ट संवाददाता

काठमाडौँ । कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माले आफ्नो सांसद पद रिक्त गर्ने निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार रिट खारेज गर्ने फैसला सुनाएको हो।

नेपाली कम्युनिस्ट पार्टीको पत्रका आधारमा कर्णाली प्रदेशसभा सचिवालयले शर्माको सांसद पद रिक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध शर्मा सर्वोच्च अदालत पुगेका थिए।

यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले शर्माको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । तर, सर्वोच्चको अन्तिम फैसलासँगै प्रदेशसभा सचिवालयले गरेको पद रिक्तसम्बन्धी निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ।

तत्कालीन नेकपा माओवादीबाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा लागेको आरोप लगाउँदै नेपाली कम्युनिस्ट पार्टीको सिफारिसमा प्रदेशसभा सचिवालयले उनको सांसद पद रिक्त गर्ने निर्णय गरेको थियो।

सम्बन्धित खबर

सिफारिस