
मनाङ । पहिरो र लेदोसहितको माटो, गिट्टी तथा ढुंगा थुप्रिएर मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीलाई ब्लास्ट गरेर खोल्ने प्रयास तत्कालका लागि रोकिएको छ । ब्लास्ट गर्न पुगेको नेपाली सेनाको प्राविधिक टोलीले उपयुक्त चट्टान फेला पार्न नसकेपछि वैकल्पिक उपायबाट नदीको बहाव खुलाउने प्रयास भइरहेको हो ।
पोखराबाट गएको सेनाको प्राविधिक टोली सोमबार नै चामे पुगे पनि नदी थुनिएको क्षेत्रमा ब्लास्ट गर्न मिल्ने ठूलो चट्टान नभेटिएपछि काम अघि बढ्न नसकेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए ।
पौडेलका अनुसार नदी थुनिएको स्थानमा ठूलो चट्टानभन्दा गिट्टी, बालुवा, माटो, रुख तथा लेदो थुप्रिएको छ । त्यसैले विस्फोटक पदार्थ प्रयोग गरेर थुनिएको भाग हटाउने सम्भावना तत्काल देखिएको छैन ।
‘ब्लास्ट गर्न ठूलो चट्टान आवश्यक पर्ने रहेछ । तर नदी थुनिएको आसपासमा चट्टान फेला परेन,’ अधिकारी पौडेलले भने । ब्लास्टबाट नदी खोल्ने योजना तत्काल सम्भव नभएपछि अहिले दुईवटा उपकरण प्रयोग गरेर थुनिएको भाग खोतल्ने काम भइरहेको उनले बताए । यसबाट नदीको बहावलाई क्रमशः सहज बनाउने प्रयास भइरहेको बताइएको छ ।
अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको ठूलो बाढीले ढुंगा, गिट्टी, बालुवा, माटो र लेदोसहितको सामग्री बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । नदीको बहाव अवरुद्ध भएपछि चामे क्षेत्रमा पानी जम्मा भएर अस्थायी ताल बनेको थियो ।
पानीको निकास भने पूर्ण रूपमा बन्द छैन । थुनिएको नदीबाट केही पानी आंशिक रूपमा बग्न थालेको छ । तर अझै करिब ४ सय मिटर लामो र ८० मिटर चौडा ताल बनेको छ । यसको गहिराइ करिब २० फिटसम्म रहेको अनुमान गरिएको छ ।
यसले नदीको बहाव अचानक बढ्न सक्ने जोखिम भने कायमै राखेको छ । विशेषगरी माथिल्लो क्षेत्रमा पुनः ठूलो वर्षा भएमा थुनिएको भाग भत्किएर एकैपटक ठूलो मात्रामा पानी तलतिर आउन सक्ने भएकाले जोखिमलाई नजिकबाट निगरानी गर्नुपर्ने अवस्था छ ।
पछिल्ला दिनमा लगातारको वर्षाले मनाङका सडक, विद्युत् र सञ्चार संरचनासमेत प्रभावित भएका छन् । बेँसीसहर-चामे सडकखण्डमा समेत पहिरोका कारण यातायात अवरुद्ध भएको थियो, जुन केही दिनपछि सञ्चालनमा आएको थियो ।
मर्स्याङ्दी नदी चामे हुँदै लमजुङतर्फ बग्ने प्रमुख नदी हो । त्यसैले चामेमा बनेको अस्थायी ताल र थुनिएको नदीको अवस्थाले नदीको तल्लो तटीय क्षेत्रमा समेत चासो बढाएको छ ।