खासमा चितवनका सिडिओले फोनमा कसलाई गरेका थिए व्यङ्ग्य ? के हो भाइरल भिडियो क्लिपको वास्तविकता ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । सामाजिक सञ्जालमा करिब ३० सेकेन्डको एउटा भिडियो भाइरल छ । भाइरल भिडियोमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल कोहीसँग फोनमा कुरा गरिरहेका छन् । फोनमा कुरा गर्ने क्रममा उनले मजाक गरेको, कसैलाई गिज्याएको वा व्यङ्ग्य गरेको जस्तो बुझिन्छ ।

हेर्नुहोस्, भिडियो क्लिप

तर यति बेला सामाजिक सञ्जालमा त्यही भिडियोलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ । ५० करोड लगानीमा सञ्चालनमा आएको क्रुज नदीमा डुब्दा मजाक गरेको, गिज्याएको आदि आरोप लागेको छ ।
यस सम्बन्धमा हामीले चितवनमा प्रमुख जिल्ला अधिकारी सिडिओ गणेश अर्यालसँग कुराकानी गरेका छौँ ।

सिडिओ अर्यालका अनुसार वास्तवमा उक्त अडियो उद्धारमा खटिनुपर्ने एक व्यक्तिसँग भएको कुराकानी थियो । असोज १० गतेको बाढीपछि नारायणी पुलभन्दा ५०० मिटर उत्तरतर्फ बाँधेर राखिएको राइनो क्रुज बाढीले बगाएर पुलमा पुराएको थियो । उक्त क्रुजले पुलमा समेत क्षति पुराएको र थप क्षति नहोस् भनेर असोज ११ गते बिहानै उक्त क्रुज पुलबाट हटाउने कुरा भएको थियो । असोज १० गते राति छलफल गरेर असोज ११ गते बिहान ६ बजेदेखि नै उद्धारको काम सुरु गर्ने भन्ने थियो । त्यसका लागि त्रिशूली हाइड्रोपावरको हेभी क्रेन र बर्दघाटबाट समेत क्रेन ल्याएर क्रुज तान्ने कुरा भएको थियो ।

तर असोज ११ गते बिहान ९ बजेसम्म पनि जिम्मेवार सबै व्यक्तिहरू नवलपरासी पश्चिमको क्रुज रहेको स्थानमा पुगेका थिएनन् । चितवनका सिडिओ अर्याल बिहानैदेखि उक्त स्थानमा रहेको समयमा एक जिम्मेवार व्यक्तिले फोन गरेर, क्रेन आइपुग्यो ? क्रुज तानियो त भनेर प्रश्न गरेका थिए । सिडिओ अर्यालका अनुसार त्यसको जवाफमा व्यङ्ग्यात्मक शैलीमा उनले उक्त जवाफ दिएका थिए ।

अर्यालले दियोपोस्टसँग भने, ‘जब क्रेन हटाउनका लागि आउनुपर्ने जिम्मेवार व्यक्ति त्यहाँ नआई मलाई फोनमा के भइरहेको छ भनेर सोधेपछि त्यसको व्यङ्ग्यस्वरुप मैले उक्त कुरा भनेको थिएँ । त्यो फोन संवाद कुनै पत्रकारसँग भएको होइन, एक जिम्मेवार पदमा रहेका व्यक्तिसँग भएको थियो । तर उनी क्रुज रहेको स्थानमा नआई मलाई सोधेपछि मैले व्यङ्ग्यात्मक शैलीमा उक्त जवाफ दिएको थिएँ, तर मिडियाले त्यसको अपव्याख्या गरे, आधाआधी कटिङ गरेर भाइरल बनाए ।’

अर्यालका अनुसार क्रुजले पुलमा क्षति पुराएको कारण आइतबार नै उक्त क्रुज पुलबाट हटाउनुपर्ने थियो र क्रेन ल्याएर त्यसलाई कबिर ५ मिटर तानिएको थियो । अहिले पनि त्यस क्रुजलाई हटाउने तयारी नै भइरहेको छ ।

सिडिओ भन्छन्, मेरो लागि क्रुजभन्दा ठुलो पुल हो

चितवनका सिडिओ अर्यालले आफ्ना लागि नदीले बगाएको वा ढालेको क्रुजभन्दा ठुलो नारायणीको पुल रहेको बताए । उनले भने, ‘तपाईँहरूलाई क्रुजको माया धेरै लागेको होला, तर मेरो लागि त्यो क्रुजभन्दा ठुलो कुरा नारायणी नदीमाथिको पुल हो । त्यो पुल जोगाउनु मेरो पहिलो कर्तव्य हो र म त्यसैका लागि काम गरिरहेको छु । त्यसपछि मात्रै बाँकी कुरा हुन्छन् ।’

सिडिओ अर्यालका अनुसार उक्त क्रुजको पार्किङ स्थल शिवघाट भन्ने स्थानमा थियो, जुन नारायणी पुलबाट १२ किलोमिटर टाढा थियो । तर सञ्चालकले जबरजस्ती उक्त क्रुजलाई नारायणी नदीको पुलभन्दा माथि ल्याएर राखेका थिए । सम्भावित जोखिम देखेर सञ्चालकलाई पटक पटक उक्त क्रुज राखिएको गैँडाकोट क्षेत्रको नदी किनारबाट हटाउन भनिएको थियो, तर सञ्चालकले अटेरी गरेका थिए ।

गैँडाकोट प्रहरीले भदौ १० को बाढीपछि पटक पटक हटाउन चेतावनी दिएका थिए

चितवनका सिडिओ अर्यालका अनुसार नवलपुरका प्रहरीले पनि क्रुजका कारण सुरक्षा जोखिम देखेर पटक पटक हटाउन भनेका थिए । तर उनले अटेरी गरेका कारण क्रुजमा मात्रै होइन पुलमा समेत क्षति पुगेको छ । थप क्षति हुन नदिन सके क्रुजलाई मात्रै तानेर किनारामा लैजाने र नसकेमा क्रुज काटेर भए पनि बाहिर निकाल्ने तयारी भइरहेको छ ।

सिडिओ अर्यालसँग गरिएको टेलिफोन कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।


 

सम्बन्धित खबर

सिफारिस