नेटवर्किङ व्यवसायका नाममा हुने ठगीबाट सचेत रहन सीआईबीको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट नेटवर्किङ व्यवसायका नाममा हुने ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनचेतनाका लागि विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा अन्य वित्तीय माध्यमबाट पिरामिडमा आधारित नेटवर्किङ व्यवसायका नाममा सदस्य बन्न प्रस्ताव तथा विज्ञापन गर्ने गरिएको जनाएको छ।

प्रहरीका अनुसार नयाँ सदस्य थपेपछि आर्थिक लाभ दिने, पार्सल पठाएको भन्दै थप रकम माग्ने तथा विदेशबाट रकम पठाउने भन्दै डिजिटल भुक्तानी प्रणालीमार्फत रकम संकलन गर्ने ठगी हुनसक्ने भएकाले सचेत रहनुपर्छ।

त्यस्तै आकर्षक तलब तथा घरमै बसेर आम्दानी, अनलाइन काम, आईटीरकम्प्युटरसम्बन्धी रोजगारी र विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई सम्पर्कमा ल्याउने, रकम तथा व्यक्तिगत विवरण संकलन गर्ने र विदेश पठाउने नाममा समेत ठगी हुने गरेको प्रहरीले जनाएको छ।

विदेशमा रोजगारी तथा प्रशिक्षणको प्रलोभन देखाई नेपाली नागरिकलाई नक्कली राहदानी तथा कागजात बनाउने, बैंक खाता खोल्ने, शारीरिक तथा मानसिक दबाब दिने र जबर्जस्ती लामो समय अनलाइन स्क्यामिङ गराउने कार्यसमेत हुनसक्ने भन्दै प्रहरीले सचेत गराएको छ।

प्रहरीले वस्तुको वास्तविक मूल्य र बजार मूल्य तुलना गरेर मात्रै सामान खरिद गर्न, सदस्य बनाउँदा पैसा तिर्नुपर्ने व्यवस्था भए सचेत रहन तथा कम्पनी कानुनी रूपमा दर्ता भएको र इजाजतपत्र प्राप्त छरछैन जाँच गर्न आग्रह गरेको छ।

त्यस्तै, इ-सेवा तथा बैंक खातामा अनधिकृत पहुँचका लागि ओटीपी माग्ने वा शंकास्पद लिंकमा क्लिक गर्न लगाउने गतिविधिबाट समेत सावधान रहन प्रहरीले भनेको छ। धेरै कमाइ तथा नाफाको प्रलोभनमा नपर्न, आम्दानीको स्रोत स्पष्ट सोध्न तथा आवश्यक कागजात र प्रमाण सुरक्षित राख्न पनि आग्रह गरिएको छ।

प्रहरीले हतारमा निर्णय नगर्न र सामान्यतया सोच्ने समयमा द्विविधामा निर्णय नगर्न आग्रह गर्दै शंका लागेमा नजिकको प्रहरी कार्यालयमा सूचना वा उजुरी दिन सकिने जनाएको छ। प्रहरीका अनुसार उजुरीपछि ठगी, आपराधिक विश्वासघात, कीर्ते, विद्युतीय कारोबार, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरी कानुनी दायरामा ल्याइनेछ।

सम्बन्धित खबर

सिफारिस