क्षेत्रीय अधिवेशन नसकिँदै कांग्रेस महाधिवेशनको मिति तय, असोज १८ गते उद्घाटन हुने

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना हुने जानकारी दिएको हो ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् । हाल प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन् ।

देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा भने क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको कांग्रेसले जनाएको छ ।

निर्वाचन समिति तथा पार्टीका विभिन्न तहका कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा केही क्षेत्रमा अधिवेशन र प्रतिनिधि चयन प्रक्रिया सम्पन्न हुन बाँकी रहेको कांग्रेसको भनाइ छ ।

यही परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा आयोजना गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा महाधिवेशनसँग सम्बन्धित बाँकी निर्वाचन प्रक्रिया भने जारी रहने उल्लेख छ ।

सम्बन्धित खबर

सिफारिस