
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलले चन्द्रागिरीका दुई खाद्य उद्योगमा अनुगमन गरेको छ । विभागको काठमाडौँस्थित टोलीले गत बुधबार र बिहीबार चन्द्रागिरी नगरपालिका-३ स्थित अर्बन फुड इण्डष्ट्रीज र नगरपालिका-६ स्थित बेबी ब्रेड एण्ड बेकरीमा नियमित अनुगमन तथा निरीक्षण गरेको हो।
अनुगमनका क्रममा अर्बन फुड इण्डष्ट्रीजमा सरसफाइ र कामदारको व्यक्तिगत सरसफाइको अवस्था सामान्य रहेको पाइएको विभागले जनाएको छ। तर, कोल्ड रुमको सरसफाइ पर्याप्त नरहेको पाइएको थियो।
त्यस्तै, भण्डारण कक्षमा म्याद गुज्रेका चार प्याकेट मसला फेला परेका थिए । विभागका अनुसार ती म्याद गुज्रेका मसला नष्ट गरिएको छ। विभागले कोल्ड रुमको नियमित सरसफाइ गर्न निर्देशन दिएको छ।
उक्त उद्योगबाट थप अनुसन्धानका लागि चिकेन ससेजको नमुना समेत संकलन गरिएको विभागले जनाएको छ।
त्यस्तै, बेबी ब्रेड एण्ड बेकरीमा गरिएको अनुगमनका क्रममा सरसफाइको अवस्था सामान्य रहेको पाइएको थियो। तर, कच्चा पदार्थ भण्डारण गर्ने कक्ष अव्यवस्थित रहेको विभागले जनाएको छ।
अनुगमनका क्रममा बेकरीजन्य खाद्य पदार्थको प्रशोधन तथा प्याकेजिङ भइरहेको नपाइएको विभागले जनाएको छ । उद्योगले अनुमतिपत्र नवीकरणको प्रक्रियामा रहेको जानकारी दिएको थियो।
विभागले बेकरीलाई भण्डारण कक्ष व्यवस्थित गर्न, प्रभावकारी कीट नियन्त्रणको व्यवस्था मिलाउन तथा नियमित सरसफाइ गरी खाद्य स्वच्छता कायम गर्न निर्देशन दिएको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक सुधार तथा कारबाहीका लागि निर्देशन दिएको जनाएको छ।