
विराटनगर । तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका-१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ । कोइरालाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार सोमबार राति विराटनगर-६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको सूचना पाएपछि प्रहरीको गस्ती टोली पुगेको थियो। प्रहरी पुगेपछि त्यहाँ भागदौड मच्चिएको थियो । भाग्ने क्रममा कोइराला लडेको प्रहरीले जनाएको छ।
प्रहरीले कोइरालासहित आठ जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । मंगलबार बिहान हिरासतमा रहेका उनलाई उठाउन खोज्दा कोइराला नबोलेपछि उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो ।
कोशी अस्पतालले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरेको थियो । नोबेलमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
सोही क्रममा प्रहरीलाई छल्न खोज्दा विराटनगर-८ का ४१ वर्षीय चन्दन मुखिया पनि घाइते भएका छन् । प्रहरीबाट बच्न घरको दुई तलामाथिबाट हामफाल्ने क्रममा उनको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको छ।
सोमबार राति करिब साढे ११ बजे भएको उक्त कारबाहीका क्रममा प्रहरीले घटनास्थलबाट तास र नगद ४८ हजार ३९५ रुपैयाँ बरामद गरेको थियो । प्रहरीले घटनास्थलबाट आठ जनालाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्ने अन्यमा धनपालथान गाउँपालिका-६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर-४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर-६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल तथा ४३ वर्षीय विष्णु कामत रहेका छन् ।