सरकारी क्याम्पसका उपप्राध्यापक कांग्रेस सभापतिको उम्मेदवार, उम्मेदवारीमै उठ्यो कानुनी प्रश्न

दियोपोस्ट संवाददाता

दाङ । सरकारी सेवामा रहेका व्यक्ति राजनीतिक दलको कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने ब्यवस्थाको धज्जी उडाउँदै महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक प्रकाश श्रेष्ठले नेपाली कांग्रेसको क्षेत्रीय सभापति पदका लागि उम्मेदवारी दिएका छन् ।

श्रेष्ठ कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर २ को सभापति पदमा उम्मेदवार बनेका हुन् । उनको प्रतिस्पर्धा पूर्वमन्त्री प्रचण्ड न्यौपानेका स्वकीय सचिव सन्तोष योगीसँग हुने भएको छ ।

तर, उम्मेदवारी दर्ता भएको केही समयमै श्रेष्ठको उम्मेदवारीमाथि प्रश्न उठेको छ । बहालवाला उपप्राध्यापकले राजनीतिक दलको आन्तरिक निर्वाचनमा उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था रहेको दाबी गर्दै कांग्रेसभित्रैबाट उनको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

उम्मेदवारी खारेजीको मागसहित निर्वाचन समितिमा निवेदन परेको स्रोतले जनाएको छ । निवेदनमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा शिक्षण प्राध्यापकसम्बन्धी सेवा नियमावलीका प्रावधानलाई आधार बनाइएको छ ।

सरकारी सेवा वा अनुदान प्राप्त शिक्षण संस्थामा कार्यरत बहालवाला प्राध्यापकले राजनीतिक दलको कार्यकारी पदमा रहन वा दलको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था रहेको निवेदनमा उल्लेख छ ।

निवेदनमा श्रेष्ठ महेन्द्र बहुमुखी क्याम्पसमा उपप्राध्यापक पदमा कार्यरत रहेको उल्लेख गर्दै उनको उम्मेदवारी कानुनविपरीत भएको बताइएको छ । श्रेष्ठ संस्कृत विषयमा करार सेवाबाट २०७३ सालमा क्याम्पस प्रवेश गरेका थिए । पछि उनी स्थायी नियुक्त भएका हुन् ।

सम्बन्धित खबर

सिफारिस