
काठमाडौं । सामान्यतः घर वा जग्गा खरिद गर्ने भनेपछि बैना बट्टाको कागज तयार पारिन्छ अनि बैनाबापतको रकम चेक वा नगद नै समेत दिएर दुवै पक्षले साक्षीसमेत राखेर सहीछाप गरेर लेनदेन गरिन्छ । पछिल्लो समय त्यस्तो बैनालाई वैधानिकता दिन वडा कार्यालयमा समेत कागज प्रमाणीकरण गर्ने गरिन्छ ।
सितापाइला क्षेत्रमै घर खोजिरहेकी नागार्जुन ६ की सिर्जना गिरीको आँखा एक दिन पत्रिकाको विज्ञापनमा प¥यो । विज्ञापनमा उनले सितापाइला क्षेत्रमै ३ आना क्षेत्रफलमा बनेको तीन तले घर २ करोड ८० लाख रुपैयाँमा विक्रीमा रहेको देखिन् । विज्ञापनमा नम्बर समेत राखेको पाएपछि उनले सोही नम्बरमा कुरा गरिन् ।
त्यसपछि उक्त क्षेत्रको घरको कुरा गर्दा उमाकान्त खनाल भन्ने व्यक्तिले घर देखाउने र धनी भेटाउने भए । सिर्जनाले उक्त घरको सम्बन्धमा कुराकानी गर्न उनका श्रीमान् राजेन्द्र गिरीलाई लगाइन् । राजेन्द्रले दिइएको मोबाइल नम्बर ९८५१०९८४०६ नम्बरमा सम्पर्क गरे । ती व्यक्ति थिए, काठमाडौँको सितापाइला नै स्थायी ठेगाना भएका गोकुल केसी ।
राजेन्द्रले गोकुलसँग नै कुराकानी गरेर सितापाइलामा रहेका घरसमेत हेर्न गए । साबिक सितापाइला गाविस वडा नम्बर ४, सिट नम्बर १०३–१०६२–२२, कित्ता नम्बर २८९ र २८७ को क्षेत्रफल क्रमशः ३३.९० र ६१.५० वर्ग मिटर अर्थात् कुल ३ आना क्षेत्रफलमा बनेको ३ तलाको निर्माण पूरा नै नभएको घर देखे । बन्दै गरेको तर पूरा हुन नसकेर रहेको ३ तलाको उक्त घर गिरीलाई ठिकै लाग्यो । मर्मत गरेर घरमा बस्न सकिने भएपछि उनले घर लिने निर्णय गरे ।
त्यसपछि गोकुलसँग थप छलफल हुँदा घर गोकुलको नाममा नभई उनकी श्रीमती विमला केसीको नाममा रहेको खुल्यो ।
एकाघरको सदस्य हुँदा जसको नाममा भए पनि फरक नपर्ने भन्दै गिरीले घर बैना गर्ने कुरा गरे । बैँकबाट ऋण मिलाउन र रकम जुटाउन केही समय समेत लाग्ने भएकाले गिरीले सुरुमा १ करोड ५० लाख रुपैयाँ दिएर घर बैना गर्ने र त्यसपछि बैंकबाट ऋण मिलाएर घर पास गर्ने कुरामा सहमति भयो । घर पास गर्न ५ महिनाको भाखा राखियो र गिरीले श्रीमती सिर्जनाको नाममा कायम रहेको सिद्धार्थ बैँकमा रहेको खाताको चेक नम्बर ००४७५५९३५३ बाट १ करोड ५० लाख रुपैयाँको चेक दिए ।
यो कुरा थियो, २०८२ माघ १९ गते । त्यसको ७ दिनपछि घरको विक्रीकर्ता र खरिदकर्ता दुवै जना स्थानीय तह अर्थात् नागार्जुन नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयमा गएर शुल्कसमेत तिरेर बैना बट्टाको कागज प्रमाणित गराए ।
हेर्नुहोस्, बैना बट्टाको कागज

त्यसको पाँच महिना अर्थात् असार १९ गतेभित्र घर पास गर्नुपर्ने थियो । गिरीले श्रीमतीको तर्फबाट गर्नुपर्ने सबै काम सकेर जेठ महिनामै घर पास गरिदिन आग्रह गरे । तर गोकुलले सहकारीको ऋण तिरेर ल्याउँछु अनि हुन्छ भन्दै आलटाल गरिरहे ।

तर जब भाखा सकिन लाग्यो, त्यसपछि गोकुल सम्पर्कविहीन हुन थाले । त्यसपछि पनि गिरीले पटक-पटक विमला केसीका श्रीमान् गोकुल केसीसँग कुराकानी गरिरहे । गिरी गोकुलहरू बस्ने गरेको घरमै पनि गए ।
तर गोकुल त्यहाँ थिएनन्, बरु उक्त घर पनि गोकुलको हकमा थिएन र बैँकको लिलामी प्रक्रियामा गइसकेको थियो । अनि गोकुल पनि त्यहाँबाट समेत सम्पर्कविहीन भइसकेका थिए । त्यसपछि उनको मोबाइल नम्बरमा फोन लागे पनि उठाउन छाडे । तर कहिलेकाहीँ भने ह्वाट्सएपमा कुराकानी हुन थाल्यो । गोकुलले घर दिन्न भनेनन्, तर अलिकति समस्या परेकाले हो, पास गरिदिन्छु भनिरहे ।
अनि राजेन्द्रलाई शङ्का लागेर खोज्न थाले इतिहास
हुन त राजेन्द्रले घर बैना गर्नुभन्दा अगाडि नै स्थानीय व्यक्तिहरूसँग कुराकानी गरेर गोकुलको विषयमा जानकारी बटुलेका थिए । त्यति बेला सितापाइलाका स्थानीयले गोकुल बदमास हो भनेर कसैले नभनेको गिरीले दियोपोस्टलाई बताए । स्थानीय व्यक्ति भएको र व्यवहार समेत नराम्रो रहेको भन्ने नसुनेकाले उनले गोकुललाई पूरै विश्वास गरेका थिए ।

तर जब गोकुलले घर पास गरिदिने छाँटकाँट देखाएनन्, त्यसपछि गिरी गोकुलको बारेमा बुझ्न मालपोत कार्यालय, प्रहरी कार्यालय आदितिर धाउन थाले । त्यसपछि थाहा भयो, गोकुलले त एउटै घर ३ जना सम्मलाई बैना गरेर रकम लिएर भाग्ने गरेका रहेछन् । राजेन्द्रले जुन घरका लागि डेढ करोड रुपैयाँ बैना रकम दिएको थिए, गोकुलले उक्त घर पहिले नै अरू कसैलाई समेत बैना गरिसकेका रहेछन् र बैना रकम लिएर घर नदिएको कारण उनकी श्रीमती विमला केसीको नाममा रहेको उक्त घर पहिले नै रोक्का भइसकेको रहेछ ।
त्यसबाहेक उक्त घर एक्सप्रेस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको नामबाट रोक्का भइसकेको रहेछ । उक्त सहकारीबाट १ करोड ३० लाख रुपैयाँ ऋण लिएको कारण उक्त घर रोक्का भइसकेको थियो । तर घर रोक्का भइसकेको भए पनि गोकुलले उक्त घर अरू दुई जनालाई पास गरिदिन्छु भन्दै बैना गरिसकेका थिए ।
हेर्नुहोस् विमला केसीको नाममा दर्ता रहेको उक्त घर रोक्का रहेको प्रमाण ।

त्यसपछि गोकुल र विमलाको नाममा रहेको घर जग्गाको खोजतलास गर्दा थाहा भयो, उनको सबै घर र जग्गा विभिन्न वित्तीय संस्था, व्यक्ति आदिका उजुरीका आधारमा रोक्का भइसकेका थिए ।
गिरीले खोजी गर्दा गोकुल र विमलाका नाममा रहेका सबै घर र जग्गा रोक्का रहेको पाइयो भने अधिकांशमा ऋण, घर वा जग्गाको बैना गरेर पास नगरी ठगी गरेको आरोप थियो ।
त्यसपछि सिर्जना र राजेन्द्रलाई तनाव हुन थाल्यो । राजेन्द्रले कानुनी प्रक्रियामा जानु भन्दा पनि कुनै समस्या परेर होला भनेर समय दिए र सहजीकरणको लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । गोकुलले हुँदैन कहिल्यै भनेनन् तर कहिल्यै पास गरिदिने वा भेट गर्ने गरेनन् ।
त्यसपछि गिरीलाई झनै शङ्का लागेर खोज्दै जाँदा उनले विभिन्न व्यक्ति र वित्तीय संस्थाबाट सोही घर धितो राखेर वा देखाएर करिब ४ करोडभन्दा बढी रकम लिइसकेका थिए । उनलाई उक्त घर कुनै व्यक्ति विशेषलाई पास गरिदिनु भन्दा लिलामीमै जानु फाइदा थियो र उनी सम्पर्कविहीन भएर बस्न थाले ।
गिरी भन्छन्, ‘घर जान नसक्ने अवस्था छ’
आफ्नो समस्या लिएर दियोपोस्टको कार्यालयमा आइपुगेका गिरीले आफू गोकुलबाट कसरी ठगिएँ भनेर बेलिबिस्तार सुनाएँ । गोकुलले आफू जस्तै अन्य व्यक्तिहरूलाई पनि विभिन्न स्थानका घर र जग्गा देखाएर ठगी गरेको पाइएको गिरीले बताए ।
सुरुमा श्रीमतीले विज्ञापन हेरेर सम्पर्क गरेको भए पनि पछि सबै कुरा आफूले नै म्यानेज गरेको कारण अहिले घरमा जानसमेत नसक्ने अवस्था आएको गिरीले बताए । आफूसँग त्यति धेरै रकम पनि नभएको र विभिन्न व्यक्तिहरूसँग सरसापट गरेर डेढ करोड रुपैयाँ दिएकामा अहिले उक्त रकम तिर्न समेत समस्या परिरहेको गिरीको भनाइ छ ।
गोकुलको ठगीको निशानामा अन्य व्यक्तिहरूसमेत परेको थाहा भएको भन्दै यस्ता व्यक्तिबाट थप अरूलाई पीडित नहुन् भनेर पनि आफू समाचारका लागि सञ्चारमाध्यममा आएको गिरीले बताए ।
गिरीले भने, ‘म त ठगिएँ ठगिएँ, त्यसको कानुनी उपचार खोज्छु नै, तर अब अरू व्यक्तिहरू यही घर र जग्गाहरू देखाएर, अन्य घर र जग्गा देखाएर नठगिउन् भनेर म यो विषय बाहिर आउनुपर्छ भनेर आएको हुँ ।’
ठगी गरेर अस्ट्रेलिया भागेको आशंका
गोकुल र विमला केसीले विभिन्न व्यक्तिहरूलाई ठगी गरेर अस्ट्रेलिया भागेको गिरीको अनुमान छ । गिरीका अनुसार गोकुल र विमला केसीका छोरीहरू र छोरा अहिले अस्ट्रेलियामा छन् । छोरा र छोरीहरू अस्ट्रेलियामा भएका कारण गोकुलहरू पनि नेपालमा ठगी गरेर अस्ट्रेलियामा भागेको राजेन्द्रको बुझाई छ ।

राजेन्द्र भन्छन्, ‘फोन गर्दा फोन त लाग्छ तर कहिल्यै उठ्दैन । मलाई लाग्छ उनीहरूले उक्त मोबाइल फोन यहीँ कसैलाई दिएर उनीहरू विदेश भागिसकेका छन् ।’
भएन गोकुलसँग सम्पर्क
दियोपोस्टले करिब दुई साता अगाडिदेखि गोकुललाई सम्पर्क गर्ने कोसिस गरिरहेको छ । केही दिन अगाडिसम्म उनको मोबाइलको स्विच अन नै भएकामा यो समाचार तयार पार्ने क्रममा भने उनको मोबाइल नम्बर ९८५१०९८४०६ को स्विच अफ गरिएको छ ।
गोकुलको यही नम्बरको ह्वाट्सएपमा म्यासेज गए पनि उक्त म्यासेजको पनि गोकुलले कुनै रेस्पोन्स गरेका छैनन् ।