पृथ्वीराजमार्गको पहिरो पन्छाइँदै, आज दिउँसोदेखि दुईतर्फी सञ्चालनमा आउने

दियोपोस्ट संवाददाता

धादिङ । पहिरो र सडक भासिएर अवरुद्ध बनेको पृथ्वीराजमार्ग आजदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । विभिन्न स्थानमा पहिरो खसेपछि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको राजमार्ग दिउँसोदेखि दुईतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अन्य अवरोध नआएमा आज अपराह्न १ बजेदेखि पृथ्वीराजमार्गमा सबै प्रकारका सवारी साधन दुईतर्फी रूपमा सञ्चालन गर्न सकिनेछ ।

वर्षा रोकिएसँगै सडक खुलाउने काम तीव्र पारिएको प्रशासनले जनाएको छ । यद्यपि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले यात्राका क्रममा आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

सवारी चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पूर्णरूपमा पालना गर्न तथा सडकको अवस्था हेरेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

आपतकालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको १२३४ वा ०१०-५२१४६४ नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर