
कञ्चनपुर । एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा चिनिएको कञ्चनपुरको दोधारा-चाँदनी झोलुङ्गे पुलमै सुरक्षाको प्रश्न उठेपछि आवागमन बन्द गरिएको छ । महाकाली नदीमाथि बनेको पुलको केही भागमा फलामका पाता जोड्ने नट-बोल्ट फुत्किएर पाता माथितिर उठेको भेटिएपछि प्रहरीले आवागमन रोकिदिएको हो ।
पुलमा यस्तो समस्या देखिएपछि अहिले पैदलयात्रीदेखि दुईपांग्रे सवारीसाधनसम्मको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार पुलको बिग्रिएको भाग मर्मत-सम्भार गरेपछि मात्रै आवागमन पुनः सञ्चालन गरिनेछ । दोधारा-चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकामसँग जोड्ने प्रमुख सम्पर्क मार्गका रूपमा रहेको यो पुलमा अचानक आवागमन रोकिएपछि स्थानीयलाई समेत समस्या भएको छ ।
ठूलो संरचना र दैनिक आवागमनको महत्वपूर्ण माध्यमका रूपमा रहेको पुलमा नट-बोल्ट फुत्किएर फलामका पाता उठ्ने अवस्था कसरी आयो भन्ने प्रश्नसमेत उठेको छ । महाकाली नदीमाथि निर्माण गरिएको उक्त झोलुङ्गे पुलको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर छ । यसलाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा चिनिन्छ ।
यति महत्वपूर्ण र लामो पुलको नियमित निरीक्षण तथा मर्मतसम्भार कति प्रभावकारी भइरहेको छ भन्ने हो ।