
काठमाडौँ । आइतबारदेखि करिब ४-५ दिनसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि घाम कम लाग्ने तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा.विनोद पोखरेलका अनुसार आइतबारदेखि घटस्थापनासम्म मौसम बदली भई देशभरका अधिकांशमा भू -भागमा झरी पर्ने र चिसो बढ्ने सम्भावना छ।
यद्यपि, आगामी साता हुने वर्षा गत साता परेको जस्तो ठूलो नहुने उनको भनाइ छ । उनले आगामी वर्षाको सम्भावनालाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
उनका अनुसार आइतबारदेखि करिब ४-५ दिन हल्का वर्षाको सम्भावना भए पनि देशभर एकैपटक वा हरेक दिन सबै स्थानमा वर्षा हुने छैन । पूर्वी नेपालदेखि काठमाडौँसम्म वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहे पनि पश्चिमी क्षेत्रमा कम देखिएको उनले बताएका छन् ।
मौसमविद् पोखरेलले किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था नरहेको पनि बताएका छन् । कुन दिन मौसम अनुकूल हुनसक्छ भन्ने जानकारी लिन सहज होस् भन्ने उद्देश्यले वर्षाको पूर्वानुमान सार्वजनिक गरिएको उनको भनाइ छ।
उनका अनुसार यो चारवटा मौसम पूर्वानुमान मोडलको औसतमा आधारित ६ दिनको दैनिक वर्षा पूर्वानुमान हो । पूर्वानुमान नक्सामा ३ मिलिमिटरभन्दा कम वर्षा देखिएका स्थानमा खासै पानी नपर्न सक्ने तथा ४ मिलिमिटर वा सोभन्दा बढी देखिएमा वर्षाको सम्भावना रहेको बुझ्न सकिन्छ।
पोखरेलले सर्वसाधारणलाई आफ्नो जिल्ला र दिनअनुसार पूर्वानुमान नक्सा हेरेर मौसमको अवस्था बुझ्नसमेत आग्रह गरेका छन्।