बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

दियोपोस्ट संवाददाता

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानमा स्कार्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बुधबार बिहान करिब ८ः३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ९७४९ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बेथानचोक गाउँपालिका-१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीय मिनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन् ।

प्रहरी टोलीले घाइते सबैलाई उद्धार गरी स्थानीय प्रधान मेडिकल, रातामाटा पुर्‍याएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनीहरूलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

जिप चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित खबर