
काठमाडौँ । जापान पठाइदिन्छु भन्दै १ करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने निम एजुकेसन कन्सल्टेन्सी प्रा।लि।का सञ्चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय दीपबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले जापान पठाइदिने भन्दै १५ जना पीडितबाट १ करोड १ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए ।
उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले तामाङलाई सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।