
दाङ । सरकारी शैक्षिक संस्थामा कार्यरत बहालवाला उपप्राध्यापक नेपाली कांग्रेसको आन्तरिक निर्वाचनमा निर्वाचित बनेका छन् । महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक प्रकाश श्रेष्ठ कांग्रेस दाङ क्षेत्र नं. २ को सभापतिमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले ५ सय ६३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सन्तोष योगीले ४ सय १ मत प्राप्त गरे । तर, श्रेष्ठको उम्मेदवारी दर्ता भएपछि कांग्रेसभित्रैबाट त्यसविरुद्ध निर्वाचन समितिमा निवेदन परेको थियो ।
सरकारी शैक्षिक संस्थामा कार्यरत बहालवाला प्राध्यापक राजनीतिक दलको सदस्य बन्न तथा दलको कार्यकारी जिम्मेवारीमा सहभागी हुन नपाउने कानुनी व्यवस्था रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो ।
निवेदनमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा शिक्षण सेवासम्बन्धी प्रचलित कानुनी व्यवस्थालाई आधार बनाइएको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा १४ (२)(ग)मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाका बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था छ ।
श्रेष्ठ महेन्द्र बहुमुखी क्याम्पसमा उपप्राध्यापकका रूपमा कार्यरत रहेको र उनले २०७३ सालमा संस्कृत विषयमा करार सेवाबाट क्याम्पस प्रवेश गरेको निवेदनमा उल्लेख गरिएको थियो । पछि उनी स्थायी नियुक्त भएका हुन् ।
यद्यपि, श्रेष्ठले आफूले पार्टीमा राजीनामा बुझाइसकेको भन्दै उम्मेदवारीबारे स्पष्टीकरण दिएका छन् । त्यसपछि निर्वाचन समितिले उनको उम्मेदवारी कायम राख्दै निर्वाचन प्रक्रिया अघि बढाएको बताउदै आएको छ ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार सभापतिमा श्रेष्ठ निर्वाचित हुँदा सचिवमा तिलकबहादुर केसी निर्वाचित भएका छन् । केसीले ५ सय १९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सरद विक ‘समीप’ले ४ सय २७ मत पाए ।
त्यस्तै, खुला सहसचिवमा मधुसुदन अधिकारी ४ सय ७५ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी निरज गिरीले ४ सय ३३ मत प्राप्त गरे । महिला सहसचिवमा रेखा केसी निर्वाचित भएकी छन् । उनले ५ सय १६ मत प्राप्त गर्दा प्रतिस्पर्धी सपना मजगैया अधिकारीले ४ सय ४६ मत प्राप्त गरिन् ।
श्रेष्ठको उम्मेदवारीमाथि परेको उजुरी र उनले दिएको राजीनामासम्बन्धी दाबीबीचको कानुनी अवस्था भने प्रस्ट हुन बाँकी नै छ ।