
डोटी । जिल्ला अस्पताल डोटीको शौचालयमा अचेत अवस्थामा भेटिएका स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका-६ का ३४ वर्षीय अहेब प्रेम बोगटी रहेका छन् ।
अस्पतालमै कार्यरत बोगटीको बुधबार बिहान करिब ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सागर बोहराका अनुसार बोगटी शौचालयमा मृत फेला परेका हुन् ।
शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि अस्पतालका कर्मचारीले खोजी गरेका थिए । खोजी गर्ने क्रममा उनी शौचालयभित्र अचेत अवस्थामा भेटिएका थिए । जिल्ला अस्पतालले भने बोगटीलाई शौचालयमा अचेत अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको र उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।
घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।