
ललितपुर । आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै युवाबाट रकम असुलेर सम्पर्कविहीन भएको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले रामेछापको लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय दीपबहादुर तामाङलाई ललितपुरको महालक्ष्मी नगरपालिका,५ हात्तिवनबाट पक्राउ गरेको हो ।
तामाङ ‘नीम इजुकेशन कन्सल्टेन्सी’का सञ्चालक हुन् । प्रहरीका अनुसार उनले जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड १ लाख रुपैयाँ उठाएका थिए । रकम लिएपछि भने उनी पीडितको सम्पर्कमा नआएको आरोप छ ।
प्रहरीका अनुसार जापान पठाइदिने भन्दै लामो समयसम्म झुक्याएको र सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपछि उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको बताइएको छ ।
विभिन्न कार्यालयमा ठगीका मुद्दाः
प्रहरी विवरणअनुसार तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालय तथा वैदेशिक रोजगार विभागमा ठगीसम्बन्धी उजुरी तथा मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा एक, जिल्ला प्रहरी परिसर ललितपुरमा दुई, जिल्ला प्रहरी परिसर भक्तपुरमा एक, जिल्ला प्रहरी कार्यालय कास्कीमा एक, प्रहरी वृत्त सिंहदरबारमा एक र प्रहरी वृत्त बानेश्वरमा एक गरी मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ ।
यस्तै, वैदेशिक रोजगार विभागमा सातवटा वैदेशिक रोजगारसम्बन्धी कसुर दर्ता भएको उल्लेख छ । तामाङ बिरुद्ध विभिन्न निकायमा गरी १४ वटा मुद्दा दर्ता भएको देखिन्छ ।
२०८१ सालमा सार्वजनिक गरिएको एक घटनामा समेत दिप बहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको थियो । यसैबीच तामाङबिरुद्ध बैंकिङ कसुरसँग सम्बन्धित ६ वटा मुद्दामा ३४ लाख ६५ हजार रुपैयाँ बराबरको रकम ठगी गरेको समेत बताइएको छ ।