
काठमाडौँ । यस वर्षको चाडपर्वलाई लक्षित गर्दै नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले विगतका वर्षमा जस्तो निश्चित मिति तोकेर सार्वजनिक सूचना जारी गर्दै नयाँ नोट वितरण गर्ने व्यवस्था नगरे पनि नागरिकका लागि नयाँ नोट सटही सुविधा निरन्तर उपलब्ध गराइएको जनाएको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई वितरण गर्न राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन् ।
नयाँ नोटको मौज्दात पर्याप्त रहेकाले नागरिकलाई सहज रूपमा एक वा दुई सेटसम्म नयाँ नोट सटहीको सुविधा उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ ।
चाडपर्वका लागि नयाँ नोट आवश्यक पर्ने नागरिकले राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयका साथै आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट समेत नयाँ नोट साट्न सक्नेछन् ।
दाहालका अनुसार यस वर्ष सार्वजनिक रूपमा सूचना जारी गरी निश्चित मिति तोकेर विशेष रूपमा नयाँ नोट वितरण गर्ने योजना छैन । हालको अवस्था र नयाँ नोटको पर्याप्त मौज्दातलाई ध्यानमा राख्दै नागरिकलाई बैंक तथा वित्तीय संस्थामार्फत नै सटही सुविधा उपलब्ध गराइएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवश्यक नयाँ नोट उपलब्ध गराइसकेकाले नागरिकले आफूलाई पायक पर्ने शाखाबाट नयाँ नोट साट्न सक्ने जनाएको छ ।