
काठमाडौँ । नेपाली बजारमा बिक्री वितरण भइरहेको रारा ब्रान्डको तयारी चाउचाउको एक ब्याच गुणस्तरहीन पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको चाउचाउको नमूना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तरको पाइएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको ब्याच नं REG 01 चाउचाउका नमूना परीक्षण गर्दा सम्बन्धित उत्पादकबाट उत्पादित उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएको विभागले जनाएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम उक्त ब्याच नम्बरका सबै चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
त्यस्तै, सोही दफाको उपदफा (४) बमोजिम उक्त खाद्य पदार्थको बिक्री वितरण नगर्न तथा नगराउन पनि सम्बन्धित उत्पादकलाई निर्देशन दिइएको छ ।
उक्त ब्याच नम्बको ६० ग्राम तौल भएको रारा ब्रान्डको तयारी चाउचाउ कास्कीको पोखरा औद्योगिक क्षेत्रमा रहेको हिमश्री फुड्स प्रालिले उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ ।