ऐनाका टुक्राटुक्रीहरूमा आफ्नो अनुहार खोजिरहेकी रक्षा थापा बस्नेत!

संघर्षको कथा

diyopost.com
झल्लु प्रसाद
  बुधबार, भाद्र ३०, २०७८ | २०:३३:०१

म भाटभटेनीस्थित ‘पेपे पिजाघर’को बार्दलीमा बसेर कफी पिइरहेको छु । भाटभटेनी एक व्यापारिक थलो हो, क्रेता-बिक्रेताको हाटबजार । तर यहाँ म कफीको लागि आएको थिइन्, न हाटबजारमा सरिक हुन नै । 

म यहाँ त्यो युवतीलाई पर्खिरहेको थिएँ, जो दुई चुल्ठी कपाललाई हरियो रिबनले बाँधेर ऐना हेरिरहेकी छे । ऐनमा आफूलाई बलात्कृत गर्ने लोग्नेमान्छेको अनुहार बारम्बार देखिरहन्छे, तर्सिरहन्छे । त्यो आपराधिक अनुहारलाई चिथोरेर मिल्काउन ऐनामा ऊ आफ्नो नङ दबार्छे, सक्दिन । चिच्याउँछे, सक्दिन । ऊ चाहन्छे कि ऐनाले आफ्नो त्यो अनुहार देखाओस्, जो मुस्कुराएको होस्, खुसी होस् । तर ऐनाले त्यसो गर्दैन, बरोबर सोही व्यक्तिलाई देखाउँछ । र, ऊ ऐना मिल्काई हाल्न पनि सक्दिन । हैरान भएर, धुजाधुजा बनाएर ऐना फुटाएर, टुटेफुटेका ऐनाका टुक्राटुक्रीहरूलाई हत्केलामा दबाएर सो युवती बरोबर आफूलाई खोजिरहन्छे-वास्तविक आफू। सँगसँगै, भविष्य सम्झिएर अत्तालिन्छे । त्यस दिनभन्दा अगाडिको विगत सम्झिएर मुस्कुराउँछे र त्यस दिनलाई सम्झिएर रुन्छे, रिसाउँछे, चिढिन्छे । 

ऐनाका टुक्राटुक्रीहरूमा आफ्नो अनुहार बारम्बार खोजिरहेकी त्यो केटी अर्थात् रक्षा थापा बस्नेतलाई पर्खँदै छु म। उनको पर्खाइ र कफी दुवैको एकै स्वाद छ-मनतातो तितो। पर्खन सक्नु र पर्खाउन सक्नु, दुवै मेरो मनपसन्द आदत हुन् । यसकारण, यो पर्खाइलाई मनतातो गर्मी भनिदिँदा पनि गाह्रो-साह्रो छैन । खैर, जे होस् । यहाँ मैले बताउनुपर्ने हुन्छ, माथि वर्णन गरिएको दृश्य उनै रक्षाद्वारा अभिनीत सर्ट फिल्मडार्क: अ हिडन स्टोरी’को हो ।  

पेपे पिजाघरको परिवेश एलेन फिटरगेराल्डको आवाजमा लठ्ठीरहको छ । “My nerves have gone to pieces / My hair is turning gray / All I do is drink black coffee / Since my man’s gone away,”  फिटरगेराल्ड गाउँदै थिइन्, रक्षा आइपुगिन् । याद गरें, उनको अनुहार उज्यालो थियो र ओठमा हाँसो । 

प्रश्न गरिहालें, “तपाईँले आफ्नो अनुहार भेट्नुभएछ क्यारे !” उनी सामुन्ने कुर्सीमा बस्दै भन्छिन्, “हाँसो त बस् औपचारिकता हो । पर्खाएकोमा क्षमा माग्ने औजार ।”

यसपछि हाम्रा दुई ओठहरू उघारिरहन्छन्, कफी र गफ पिइरहन्छन् । कला, साहित्य, फिल्म, सङ्गीत-समग्रमा जीवनका कुरा चलिरहन्छ ।  

बाल्यकाल…
रक्षा थापा बस्नेत, आफ्नो प्राचीनताका लागि प्रसिद्ध नेपाल खाल्डो (काठमाडौँ)मा जन्मिइन् । कला र इतिहासप्रेमिहरूको काठमाडौँप्रति जुन लगाव छ, सो लगाव रक्षाको पनि छ । 

उसो त उनको अध्ययन संस्कृति र इतिहास होइन । उनी समाजशास्त्र र पत्रकारिता अध्ययन गर्दैछिन् । अध्ययन एकातर्फ छ तर रक्षा कलाप्रति आकर्षित भइन । कलालाई नै आफ्नो दैनिकी बनाइन् । नाटक, सर्ट फिल्म, म्युजिक भिडियोहरूमा उनी देखिरहेकी छन् । ओएसआर मुभिजबाट सार्वजनिक भएको ‘डार्क’ नामको सर्ट फिल्ममा उनको शानदार अभिनय कौशलता देख्न सकिन्छ । 

काठमाडौँको तमाम पृष्ठभूमिमा आफूले भोगेका सजिला-सजिला घुम्तीहरू नै आजको आफू भएको उनी स्विकार्छिन् । “मेरो पुर्ख्यौली घर सोलु (सोलुखुम्बु) मा हो तर बुबाममी दुवै यतै हुनुहुन्थ्यो, म पनि त्यसपछि यतै भएँ । कहिलेकसो पुगिरहन्छु, सोलु मेरो सम्झनामा रहिबसेको छ ।” तर आफू पर्यटकझैँ बेलामौकामा गाउँ पुग्दा चाहिँ मन दुख्ने पनि बताउँछिन् । 

स्कुल (४-५ क्लास) मा होइराख्ने प्रोग्रामहरूमा उनको सक्रियता रहन्थ्यो । घरपरिवारले पनि यस्ता कार्यक्रमहरूमा सरिक हुन् अह्राइराख्थे । “मलाई पनि रमाइलो लाग्थ्यो । गर्दै गएँ । तर त्यसपछि एसएलसीसम्म म पढाइमा नै फोकस भए,” रसिया पुगेर ‘योङ प्रिन्सेस अफ युनिभर्स-२०१७’ को पगरी आफ्नो नाम गराएकी रक्षा भन्छिन्, “रसियाबाट फर्कीसकेपश्चात म यस फिल्डमा आइपुगे । कलाकारितासँग दैनिन्दीन मेरो उठबस हुन् थाल्यो ।” 

नाटकदेखि म्युजिक भिडियोसम्म :

‘कनन हरलता’ नाटकमा रक्षा

उनी प्लस टुको परीक्षा सकेर घरमै बसेकी थिइन्। फुर्सदको समयमा के गरौँ भनेर अलमलमै थिइन्। त्यही बेला मण्डला नाटकघरमा अभिनय सिक्न पुगिन् । तालिमपछि विभिन्न नाटकमा पात्रहरूको भूमिका निर्वाह गर्ने मौकासमेत पाइन्। झिम्के मामा, कनन हरलता, बत्ती मुनिको अँध्यारो जस्ता नाटकहरूबाट उनले आफूलाई निखारिन् । 

यसैगरी, सुनबुकी फूल, माया यस्तै हुन्छ र,  म बाँच्नुको, धेरैपछि, खुसी, घुम्न जाऊ जस्ता म्युजिक भिडियोमा उनलाई देख्न सकिन्छ । यस अलावा विभिन्न व्यापारिक एड्स, फेसन डिजाइनिङ र कार्यक्रमहरूमा सरिक हुँदै गइन् । 

तर यो सब फटाफट भएको भने होइन । जीवनको गति फटाफट हुँदैन पनि । यहाँ अल्झिनुपर्छ, दौडिनुपर्छ, लड्नु पनि पर्छ । थेचारिनु पर्छ, र दुख्नु पनि पर्छ । यही नै जिन्दगी हो । जिन्दगीको एउटा स्वभाव छ, ऊ जसोगरी पनि गतिशील होइराख्छ । रक्षा पनि गतिशील होइराखिन् । आफूलाई पटक्कै मन नभए पनि कमर्सियल एड्सहरू गरिन्, मध्यरातमा शुटिङको लागि व्युझीइन् । निर्देशकरनिर्माताको कटुवचनहरू पनि सुनिन् ।  कहिले आफ्नो कामबाट सन्तुष्ट भइन्, र कहिले निराश पनि । तर गतिशीलतालाई उनले छाडिनन् ।  “अहिलेसम्म नाटक, म्युजिक भिडियो, व्यापारिक एड्स र सर्ट मुभीहरू गरेँ । एउटा वेभ सिरिज सुटिङको क्रममा नै छ। यो सब म आफू गतिशील होइराख्नु जमर्को हो ।”

‘झिम्के मामा’ नाटकमा रक्षा

कला क्षेत्रका विसङ्गतिहरू…

मनोरञ्जनको मूल्यलाई खुम्च्याएर चुट्किला र चटकमामा सीमित गरिँदै आइएको वर्तमान सिनेक्षेत्रमा रक्षा आफ्नो फरक उपस्थिति बनाउन खोजिरहेकी छन् ।  सकभर कला पक्षलाई ध्यान दिन सकूँ भन्ने उनलाई लाग्छ । दर्शक र समग्र सिनेमा उद्योगलाई जागरूक र सतर्क गराउनु उनको उद्देश्य छ ।  यसैकारण उनी निर्देशक बन्ने सपना बुनिरहेकी छिन् । “सिनेमा सिर्जनात्मक एवं रचनात्मक विधा हो ।  यसको कलापक्षलाई समातेर नै काम गर्छु भन्ने लागेको छ”, उनी भन्छिन्।  

तर सदैव आफूले चाहेजस्तो  हुन नसक्ने उनी बताउँछिन् । “कहिलेकसो कमर्सियल कामहरू पनि गर्नुपर्दो रहेछ । कर्मसियल फिल्म, कमर्सियल गीतहरूमा नै लगानी होइरहेको हुन्छ । दर्शकहरू भीड यिनै कुराहरूमा ज्यादा छ । फेरी कला क्षेत्रमा आफू टिक्नु पनि छ । यहीबाट बाँच्नु पनि छ ।  यो केही समयको लागि हो, सधैँ यसैगरि रहन सक्दिन,” उनी भन्छिन् । बाध्यतावश पनि आफूलाई आफ्नै चित्त दुखाउँदै आफूले केही कामहरू गरेको उनी स्विकार्छिन् । “पैसाको मात्रै कुरा होइन, आफूलाई (आफ्नो कला कौशलता) लाई दर्शकसमक्ष पुर्‍याउनको लागि पनि त्यस्ता कामहरू गर्नुपर्ने रहेछ । पूर्णतः कला पक्षले ध्यान दिँदा गुमनाम होइजाने डर हामीकहाँ छ”, रक्षा आफ्नै लयमा कला क्षेत्रको विसङ्गतिहरू अगाडि राखिदिन्छिन् । 

‘बत्तिमुनिको अँध्यारो’ नाटकमा रक्षा

कलाकारभित्रको अभिनय क्षमतालाई निचोर्न सक्ने निर्देशकहरूरनिर्माताहरू र दर्शकहरूको अभाव अझै पनि आफूलाई खड्किरहेको उनी बताउँछिन् । “नेपाली कलाक्षेत्रमा आशालाग्दा निर्देशकरनिर्माताहरू र स्क्रिप्टहरू नआएका पनि होइनन्, तर ती कम छन् । जति आएका छन्, तिनको सम्मान गरौँ, चर्चा गरौँ । यसो गर्नाले तपाईँ-हामीजस्तो कला-कला भन्नेहरूलाई आत्मविश्वासी बनाउँछ । खुसी दिन्छ,” हलुका मुस्कानसहित उनले आफ्नो कुरा तुरिन् । मैले पनि आफ्नो कफी सक्काएँ ।

दोस्रो कप कफी…

‘फेरी कफी मागौँ ? ’ प्रश्न मेरो थियो ।
‘मेरो लागि क्यापाचिनो भन्नुहोस् है,’ आग्रह उनको थियो । 
र, हाम्रो अर्डर हामीसामू थियो ।

केहीबेरको मौनतालाई छिचोल्दै मैले भने, “तपाईँलाई मनपर्ने ३/३ वटा किताब र फिल्मको नाम लिनुहोस् न ।”

“यो भेग कुरा भयो । तपाईँ मलाई फसाउँदै हुनुहुन्छ,” यसपछि उनले कफी उचालिन् । एक सिप लिँदै बोलिन्, “योगमाया, एन्जेल्स एन्ड डेमन्स । अहिले यही दुई सम्झिएँ ।” 

“तीन भनेको थिए नि ?,” मेरो प्रतिप्रश्न । 

“बाइसाइकल थिभ्स, थप्पड,” उनको प्रतिउत्तर । 

मैले यसपछि यस विषयमा थप प्रश्न गरिनँ । मैले बुझेँ, हरेक व्यक्तिको उत्तर दिने आफ्नो अन्दाज हुन्छ । कुनै सुन्दर हुन्छ, कुनै शानदार हुन्छ । उनको उत्तर सुन्दर र शानदार एकसाथ थियो । मैले थप प्रश्न गर्नुको औचित्य नै भेटिनँ । 

नेपालको मोडलिङ क्षेत्र त्यति उदार बन्न सकेको छैन !

कफी रित्तिन खोज्दै थियो ।

उनले यस क्षेत्रका समस्याहरूरविसंगतीहरूको कुरा झिकिन् । म आफैँले सोध्न भुलेको प्रश्नको उनी जवाफ दिँदै थिइन्, म दङ्ग परिगएँ । वर्तमान समयमा पनि नेपालको मोडलिङ क्षेत्र त्यति उदार बन्न नसकेकोप्रति उनले दुखेसो पोखिन्। उनले बताइन्, “मैले  आफ्नो रसिया भ्रमणको क्रममा कलाप्रतिको आममानिसको बुझाइ, सम्मान र इमानदारिता देख्न पाएँ, जुन यहाँ मुस्किलले देख्न पाइन्छ, राजू जी ।”   

“कुनै पनि व्यक्ति वा उसको व्यक्तिगत विषयमा बोल्नु वा चर्चा, परिचर्चा गर्नु राम्रो कुरा त होइन तर एकजना निर्माताले मलाई एकरात फोन गर्नुभयो । उहाँले बताएअनुसार उहाँले मेरो सामाजिक सञ्जालमा भएका फोटोहरू हेरेपछि मलाई आफ्नो प्रोजेक्टमा लिने पक्का गर्नुभएको रे ! त्यो भनेको के ? मेरो फोटोहरू हेरेर ‘मलाई पक्का गर्नु’ भन्ने शब्दावलीले कुन अर्थ राख्छ ? म को हुँ, म कस्तो काम गर्छु- उहाँलाई थाहा छैन नै, अझ सिधासिधा फोन गरेर ‘तपाईँको फोटो हेरेँ, तपाईँलाई काम छ’ भन्नु भनेको के हो ?” 

उनले सोधेको प्रश्न मोडलिङ क्षेत्रमा लामो समयदेखि रहिरहेकी अभिनेत्रीहरूले पटक-पटक मिडियासामु राखेकै हो ।  तर फेसन र मोडलिङ के हो भनेर न निर्माता/निर्देशक सचेत देखिएका छन्, न सिनेक्षेत्र नै ।  फेसन के हो भन्ने कुराको सही जवाफ फेसन डिजाइनरसँग नै नभएको उनको मत छ । “यस्तो अवस्थामा नेपाली मोडलिङ र फेसन जगतमा प्लेटफर्म खोजिरहेका, यसैमा करियर खोजिरहेकाहरू हतोत्साहित नभएर के हुने ?” 

नेपाली युवा पुस्तालाई व्यावसायिक मोडलका रूपमा स्थापित गर्नका लागि आयोजना गरिने प्रतियोगिताहरूले महिला समवेदना बुझ्न सकिरहेका छैनन् । अझ, पटकपटक महिलाहरूले लगाउने पहिरन र स्वतन्त्रताको सवालजवाफ मिडिया आइरहेछन् ।  र, यी सवालजवाफले ‘समाजको ख्याल गर्ने जिम्मा महिलाहरूको मात्र हो’ भन्ने भाष्य प्रयोग गरिरहेको छ ।  फेसनको चक्करमा महिलाहरूले सांस्कृतिक पहिरन छोड्दै गएको आरोप लगाइरहने पुरुषवादी मानसिकताले सांस्कृतिक र व्यवहारिक दुवै पक्षलाई सँगसँगै बुझ्न खोजिरहेकै छैन ।  

“खासमा फेसन त्यही हो, जुन पहिरन तपाईँलाई सहज लाग्छ । तपाईँ हिँडडुल गर्नुहुन्छ, कार्यालयमा काम गर्नुहुन्छ, व्यापार व्यवसाय गर्नुहुन्छ । यावत् काम गरिरहँदा तपाईँलाई आफ्नो पहिरन एकदमै सहज र अनुकूल महसुस हुनुपर्छ,” रक्षा बत्ताउँछिन् ।  कुनै पनि पहिरनले व्यक्तिलाई शारीरिक वा मानसिक रूपमा असहज महसुस गराउँदैन भने समाजले संस्कृतिको भजन गएर असजिलो मानिरहनुपर्ने कुरै तुक नभएको रक्षाको मत छ ।  गाउँ होस् वा सहर, पुरुष कहिल्यै संस्कृति भुल्ने प्रजाति नहुनु चाहिँ वास्तवमै अनौठो भएको पनि उनी बताउछिन् ।  

“आफ्नो शरीर र काम अनुसार सहज हुने किसिमको पहिरन लगाउनुभयो भने तपाईँले अतिरिक्त झन्झट व्यहोर्नुपर्दैन । तर भद्दा, असहज पहिरनले आफैँलाई गाह्रो हुन्छ ।  शारीरिक बनौट, वर्ण, उचाइ, रुपरंग अनुसार पहिरन लगाउने हो ।  म त यही गर्छु”, उनी भन्छिन् । 

समाजमा महिला हिंसा बढ्नुको कारणबारे खोजी भइरहेका बेला नेपाली सिने क्षेत्र, मोडलिङ र फेसन जगतसँगसँगै संस्कृतिका विभिन्न आयामहरूबारे बहस हुनु आवश्यक भएको उनी बताउँछिन्, “हो, यी क्षेत्रहरू पनि सचेत जागरुप हुनुपर्‍यो । मलाई जसरी कसैलाई फोन नजाओस् भन्ने म चाहन्छु । तर सांस्कृतिक संवाहकहरूको हवाला दिएर महिलाहरू मात्रै नै दोषी हुन् भन्ने मानसिकता चाहिँ त्यागिहालौँ । यसले हामीलाई निरन्तर नोक्सान मात्रै गरिरहेनछ । ”

नग्नता र अश्लीलता…

अश्लीलतालाई चलचित्रको चर्चा बटुल्ने अस्त्र बनाउने निर्देशक/निर्माता एवं स्क्रिप्टबाट आफू सकभर टाढा रहेको पनि रक्षाले खुलाइन् । “नग्नता र अश्लीलता फरक कुरा हो ।  ग्ल्यामर र फेसन विशुद्ध कला हो, यसमा रहेको कला पक्ष खोजिएन । ग्ल्यामर र फेसनलाई पटकपटक अश्लील मात्रै बनाइयो,” उनी दुखेसो पोख्छिन्।  

रक्षाले यसो बत्ताइरहँदा पङ्क्तिकार नग्नतालाई उछ्रिङ्खलताको संज्ञा दिएको समाजमा नग्नताको सौन्दर्यता देखाइरहेका/बुझाइरहेका विभिन्न कलाप्रेमीहरू र आर्ट एक्जिबिसनहरू सम्झन पुग्छ। दुई वर्ष अगाडी ललितपुरस्थित एमक्युब आर्ट ग्यालरीमा ‘ट्वान्टी शेड्स अप न्यूड’ प्रदर्शित थियो । यसैगरी, भर्खरै मात्रै कला परिषद्मा पनि नग्नताको सौन्दर्यलाई कलामार्फत देखाइएको थियो ।  ‘न्यूडलाई अश्लीलतासँग जोडिदिएकाले न्यूडको सौन्दर्य विलीन भएको तर यसलाई जीवन्त बनाउनु आवश्यक भएको कलाकारहरू कपिलमणि दीक्षित, मनिशलाल श्रेष्ठ, उमा बिस्ट, रसिक राज लगायतले आफ्नो कलामार्फत बताइरहेका छन्। पङ्क्तिकार क्रमशः हिन्दु देवीहरूको नग्न पेन्टिङ बनाएर विवादमा तानिएका दिग्गज कलाकार एमएस हुस्सैनलाई सम्झिन्छ । अजन्ता र महाबलीपुरमका मन्दिरहरूलाई सम्झिन्छ । रोमको चर्चित कपिटलाइन म्युजियम सम्झिन्छ ।  काठमाडौँका मन्दिरहरूका टुँडालहरूलाई सम्झिन्छ । साथै, महिलाको अङ्ग प्रदर्शनको खेतीको विरोध गर्ने कुनै बेलाको माओवादीलाई सम्झिन्छ । 

कलाकार रसिक राजको चित्र ‘The laughing Buddha.’

नाङ्गो जन्मिएको मान्छेले नग्नतालाई बुझ्न किन सकिरहेको छैन ? नग्नतालाई असभ्यता बताएर उसले आफ्नो कुन सभ्य परिचय दिइरहेको छ ? शरीरमा लगाएको गहनामा सौन्दर्य देख्ने, रुपरंगमा मदहोस हुने समाजले फेसन र मोडलिङको अन्तर्य किन बुझ्न सकिरहेको छैन ? सामाजिक रीतिरिवाजमा बाँधिएर हामी आफ्नै  शरीरलाई निषेधित गर्ने अवस्थामा किन पुगिरहेका छौँ ? मानव शरीरको अस्तित्वलाई मूलधार ल्याउन मिडिया किन हिच्किचाइरहेको छ ? साथै, अश्लीलतालाई माध्यम बनाएर विभिन्न अटोमोबाइल्स कम्पनीहरू, एड एजेन्सीहरू महिलाको शरीरलाई प्रयोग गर्ने आँट कहाँदेखि बटुलिरहेका छन् ? यिनै प्रश्नहरूको एकमुष्ट जवाफ रक्षा थापा बस्नेत लगातार सोधिरहेकी छन् ।  यिनै प्रश्नहरूको जवाफको खोजी नै आफ्नो कलाकारिता भएको  उनी बताइरहेकी छन् ।  

जाँदा जाँदै…

आज मात्रै, चलचित्रकर्मीसँग भेटवार्ता गर्दै चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफू गम्भीर रहेको बताएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रक्षाको प्रश्नहरूको मर्म बुझ्न सकुन् । निषेधाज्ञाको कारण लामो समयदेखि बन्द भएका सिनेमाहलहरू खुले पनि लगानी सुरक्षित नहुने डरले काँपिरहेका सिनेकर्मीहरू रक्षाको उत्तरको मर्म बुझुन् ।  साथै, निजी क्षेत्रको चासोमार्फत गतिशील भएको सिने क्षेत्र लाभांशको वासलातमा मात्रै घोत्लिएर गुणमापनको तराजुमा हरेकपटक हलुङ्गा साबित नभइरहोस् ।   मनोरञ्जन भनेकै हाँसोठट्टा हो र बक्स अफिस नै सफलताको मानक हो भन्ने भाष्य सच्चिओस ।  ‘समीक्षकले गरेको समीक्षाको कारण दर्शक भड्किए’ भन्ने हास्यास्पद टिप्पणी गर्ने दीपाश्री निरौला, झरना थापा जस्ता व्यक्तिहरूले आफूले बनाइरहेको सिनेमा कसका लागि र के लागि हुन् भने आफैँलाई प्रश्न सोधुन् ।  र, कलामार्फत समाजको सम्बोधन गर्न लागिपरेका रक्षाजस्ता व्यक्तिहरू निरन्तर यी-यस्तै सवाल-जवाफहरू गरिरहुन् ।