काठमाडौँ । घरेलु कामदारको रुपमा ६ महिना अघि कुवेत पुगेकी झापाकी रबिना दनुवार कुवेतमै सम्पर्कबिहिन भएकी छिन् । २० दिन पहिले मालिकको कुटाइका कारण शरिरमा लागेको चोट देखाउँदै भिडियो कल गरेकी श्रीमती एकाएक सम्पर्क बिहिन भएको भन्दै उनका श्रीमान दिपक दनुवारले खोजी गरि नेपाल फर्काइदिन आग्रह गरेका छन् ।
कुबेत गएको केही दिनमै काम कठिन भएको, मालिकले कुटपीट गर्ने गरेको र पेटभरी खाना नदिएको भन्दै रबिना नेपाल फर्किन खोजेकी थिइन् । तर, नेपाल फर्किनका लागि दलालले तीन लाख रुपैयाँ मागेको दिपकले बताए । दिपक भन्छन्, ‘उता श्रीमतीले दुख पाइरहेको छ । नेपाल फर्काइदिन पर्यो भनेर कत्तिपटक रिक्वेस्ट गरेँ, तर उल्टै दलालले तीन लाख रुपैयाँ मागे । मैले कहाँबाट तीन लाख रुपैयाँ दिन सक्नु? त्यसपछि म चुप लागेर बसेँ,’ दिपकले भने, ‘अहिले श्रीमतीकोे अवस्था अज्ञात छ । कहाँ र कुन अवस्थामा छ, केही थाहा छैन । चाढ पर्वको समयमा छोराछोरीले आमासंग कुरा गर्न नि पाएका छैनन् ।’
रबिनालाई ६ महिना अघि नेपालबाट भिजिट भिसामा दुवई पुर्यएर दुवईबाट सेटिङ्ग मिलाएर कुबेत लगिएको थियो । घर नजिकैका काले नेवार नाम गरेका ब्यक्तिले रबिनालाई कुवेत पठाएका थिए । कुबेत पठाएवापत त्यहाँस्थित नेपाली दलालबाट काले नेवारले मोटो रकम बुझेका थिए । कुवेतस्थित अन्य बिचौलियाहरुले पनि मलिकबाट मोटो रकम असुलेका थिए । रबिनालाई घरेलु कामदारको रुपमा बेचेर पैसा कमाउने धन्दामा नेपाल र कुवेतमा नेपालीहरुको गिरोह नै सकृय रहेको बुझिएको छ ।
रबिनाले दिनहुँ मालिकको कुटाई सहन नसकी नेपाल फकाईदिन आग्रह गर्दा दलालले अर्को घरमा काम लगाइदिने आश्वासन दिने गरेको उनका श्रीमानले बताए । तर, रबिनालाई न नेपाल फकाईयो, न त अर्को घरमा काम लगाइदिए । बरु उल्टै आफुसंग लाखौँ पैसा माग्ने गरेको दिपकको भनाई छ ।
यता काले नेवारसंग आफुले बुझ्न खोज्दा अफिस पुर्याइदिएको र तिहार पछि नेपाल फर्काइदिने बताएको उनले सुनाए । ‘अफिसमा भए पनि कल त गर्नु पथ्र्यो नि? भन्ने प्रश्न गर्दा, अफिसमा मोवाइल चलाउन मिल्दैन भन्छ । तर, कुन अफिसमा राखेको छ, कुन अवस्थामा राखेको छ, केही थाहा छैन,’ उनले भने ।
रबिनाका एक छोरा र एक छोरी छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण रबिना बैदेशिक रोजगारीका लागि कुवेत पुगेकी थिइन् । कुवेतमा नेपाली महिलाहरुमाथि शारिरिक शोषण हुने गरेको भर्खरै कुबेतबाट नेपाल फर्केकी आशा बिश्वकर्मा (नाम परिवर्तन)ले बताईन् ।
त्यसो त, नेपाल सरकारले कुवेतमा नेपाली कामदार पठाउन मान्यता दिएको छैन । त्यसैले बिचौलीया र दलालहरुले नेपाली महिलाहरुलाई भिजिट भिसामा दोस्रो मुलुकबाट कुवेत पठाउने गरेको उनको भनाई छ । दोस्रो मुलुक हुँदै कुवेत पुगेर घरेलु कामदारको रुपमा काम गर्ने सयौँ नेपाली महिलाहरु जोखिममा रहेको उनले बताईन् ।