काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन गर्न अनुसन्धान सुरु गरेको छ। विभागले सार्वजनिक ओहदाको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आशंकामा उनीहरूको नाममा रहेका चल–अचल सम्पत्तिको विवरण संकलन कार्य अघि बढाएको हो।
छानबिनको दायरामा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्का, साथै देउवा पुत्र जयवीरसिंह पनि परेका छन्। उनीहरूका नातागोताका नाममा रहेका बचत, लगानी, कम्पनी तथा कारोबारसम्बन्धी विवरण संकलनका लागि विभागले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्राचार गरिसकेको छ।
त्यस्तै, जग्गा–जमिनसम्बन्धी विवरण बुझाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग पनि बिहीबार पत्राचार गरिएको विभागले जनाएको छ।
विभागको निर्देशनपछि ७७ वटै जिल्लाका मालपोत कार्यालयहरूलाई सम्बन्धित विवरण संकलन गरी पठाउन निर्देशन दिइएको छ। साथै, बैंक तथा वित्तीय संस्थामा खोलिएका खाता, तिनमा रहेको नगद, गरगहना र बैंकिङ कारोबारसम्बन्धी विवरण नेपाल राष्ट्र बैंकसँग माग गरिएको छ।
विभागले संकलित विवरणका आधारमा थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।