सिराहामा ११०२ किलो गाँजासहित बोलेरो र मोटरसाइकल नियन्त्रणमा

दियोपोस्ट संवाददाता

सिराहा । सिराहाको सुखीपुर नगरपालिका-१० स्थित विश्वकर्मा चोक, गागन खोलापुलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गएराति करिब १ बजे १ हजार १०२ किलो ६५५ ग्राम गाँजासहित बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरबाट खटिएको संयुक्त टोलीले २६ वटा बोरामा प्याक गरिएको गाँजा बरामद गरेको जनाएको छ ।

गाँजा बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीका अनुसार गाडी तथा मोटरसाइकलका चालक भने टोलीलाई देखेपछि फरार भएका छन् । फरार चालकको खोजी भइरहेको जनाइएको छ ।

बरामद गाँजा, बोलेरो गाडी र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर