समस्याग्रस्त सहकारीका सवारी साधन तत्काल बुझाउन निर्देशन, नबुझाए घरजग्गा र बैंक खाता रोक्का गर्ने चेतावनी

दियोपोस्ट संवाददाता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन तत्काल बुझाउन निर्देशन दिएको छ ।

समितिले बुधबार सूचना जारी गर्दै ढुवानी प्रयोजनमा प्रयोग भइरहेका सवारी साधनसमेत जहाँ र जुन अवस्थामा छन्, सोही अवस्थामा समितिको कार्यालयमा ल्याई बुझाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको हो ।

नेपाल सरकारबाट समस्याग्रस्त घोषणा गरिएका संघ-संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मेवारी सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार गठित समितिमा रहेको उल्लेख गर्दै सवारी साधन बुझाउन सूचना जारी गरिएको समितिले जनाएको छ ।

समितिले तोकिएको निर्देशन पालना नगरेमा सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । सवारी साधन प्रयोग गर्ने व्यक्ति वा सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा रहेको घरजग्गा, बैंक खाता तथा लकर र राहदानीसमेत रोक्का राखिने समितिको सूचनामा उल्लेख छ ।

त्यसपछि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने समितिले जनाएको छ । समितिले सवारी साधन बुझाउनुपर्ने सहकारीहरूको सूचीसमेत सार्वजनिक गरेको छ । सूचीमा स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, लुः निभा बहुउद्देश्यीय सहकारी, ओरिएण्टल को-अपरेटिभ, कञ्जुमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी र पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभलगायत छन् ।

त्यस्तै तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी र नेपाल सहकारी वित्तीय संस्था पनि समितिको सूचीमा छन् ।

समितिले आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा समाहित भएका पाँचवटा संस्थाको नाममा रहेका सवारी साधनलाई समेत सूचनाको दायरामा राखेको छ । ती संस्थामा घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आईडल यमुना बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी र हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी रहेका छन् ।

समितिले सवारी साधन कसैको प्रयोगमा रहेको भए पनि तत्काल बबरमहलस्थित कार्यालयमा बुझाउन भनेको छ । सूचना असोज १५ गते पहिलोपटक प्रकाशित गरिएको हो ।

सिफारिस