स्तन क्यान्सरविरुद्धको ‘पिंकवाक २०२६’ मा दर्ता खुला

दियोपोस्ट संवाददाता

काठमाडौँ । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ मा सहभागी हुन दर्ता खुला गरिएको छ । स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारका साथै क्यान्सर प्रभावित व्यक्ति तथा परिवारप्रति ऐक्यबद्धताको सन्देश फैलाउने उद्देश्यले पिंकवाक आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार पिंकवाक आगामी असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौँको वसन्तपुरस्थित काठमाडौँ दरबार स्क्वायरबाट सुरु भई ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पुग्नेछ।

पदयात्रामा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले ईसेवामार्फत अनलाइन दर्ता गर्न सक्नेछन् । आयोजकले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भरेर पनि दर्ता गर्न सकिनेछ।

त्यस्तै, ईसेवा एपमार्फत पनि दर्ता गर्न सकिने आयोजकले जनाएको छ। त्यसका लागि ईसेवा एप खोलेर ‘भोटिङ एन्ड इभेन्ट्स’ मा गई ‘पिंकवाक’ छनोट गरेर दर्ता गर्न सकिनेछ।

पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ । पिंकवाक २०२६ इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गरेको हो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत संस्थाको सहयोग रहेको छ । आयोजकले स्तन क्यान्सरविरुद्धको सचेतना अभियानमा सामूहिक सहभागिता र ऐक्यबद्धता जनाउन सबैलाई पिंकवाक २०२६ मा सहभागी हुन आग्रह गरेको छ।

सम्बन्धित खबर

सिफारिस