
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालमा गएको भीषण हिमपहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । बुधबार थप तीन जनाको शव फेला परेसँगै मृतकको संख्या सात पुगेको हो ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बुधबार आस गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको हो । यसअघि आइतबार र सोमबारको खोजीका क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।
हिमपहिरोमा परेका थप नौ जना अझै बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ ।
यसैबीच, चामे बजार हुँदै बग्ने घट्टे खोलामा आइतबार आएको बाढीपहिरोले ठूलो परिमाणमा लेदो, हिलो, बालुवा र गेग्य्रान बगाएर मर्स्याङ्दी नदीमा थुपारेपछि नदीको बहाव अवरुद्ध भएको छ । नदी खुलाउने प्रयास जारी रहे पनि बुधबार साँझसम्म अपेक्षित प्रगति हुन सकेको छैन ।
मर्स्याङ्दी नदी थुनिएपछि पुलको दायाँ र बायाँतर्फबाट पानी बगिरहेको छ । नदी किनारमा रहेको साम्दो लामाको घरसमेत भत्किएको छ ।
नदीमा थुप्रिएको हिलो, बालुवा र गेग्य्रान हटाउन मंगलबारदेखि मेसिन तथा उपकरण परिचालन गरिएको थियो । तर, बुधबार दिनभर काम गर्दा पनि नदीको अवरोध हटाउन नसकिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए ।
‘ठ्याक्कै देखिने गरी प्रगति भएको छैन,’ पौडेलले भने, ‘अहिले यहाँ पानी छैन, पूरै बगरजस्तो भएको छ । तत्काल ब्लास्ट गर्न पनि मिल्ने अवस्था छैन । डुबानमा परेका घरहरू जस्तो अवस्थामा थिए, अहिले पनि त्यस्तै छन् ।’
उनका अनुसार नदीको अधिकांश भाग लेदो र बालुवाले भरिएको छ । मेसिनले काम गरिरहे पनि ठूला ढुङ्गा थुप्रिएको स्थानसम्म पुग्न कठिन भइरहेको छ ।
थुनिएको पानी निकास र नदीको बहाव खुलाउन कति समय लाग्छ भन्ने यकिन गर्न नसकिएको पौडेलले बताए । भौगोलिक अवस्थाका कारण इन्धन ढुवानीसमेत चुनौतीपूर्ण बनेपछि सेनाको हेलिकोप्टरमार्फत इन्धन ल्याएर मेसिन सञ्चालन भइरहेको उनले जानकारी दिए ।
यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बाढीपहिरोबाट प्रभावित मनाङका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार मुख्यमन्त्री पाण्डेले चामे पुगेर प्रभावित नागरिकको अवस्था, बाढीपहिरोबाट भएको क्षति तथा तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका हुन् ।
उनले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा प्रदेश मातहतका कार्यालय प्रमुखसँग छलफलसमेत गरेका छन् । मुख्यमन्त्री पाण्डेले बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानीलगायतका पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने तथा प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन प्रदेश सरकारले आवश्यक पहल गरिरहेको बताए ।