वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ८५ लाख ठगी, चाबहिलबाट ३१ वर्षीय युवक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । वैदेशिक रोजगारीका लागि स्लोभानिया र माल्दिभ्सलगायतका देश पठाइदिने भन्दै २५ जना युवायुवतीबाट ८५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ स्थायी ठेगाना भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-६ बस्ने ३१ वर्षीय ईश्वर खतिवडा भन्ने हरि तिमल्सिनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार खतिवडाले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै रकम उठाउने गरेका थिए । रकम लिएपछि लामो समयसम्म झुक्याएर सम्पर्कविहीन हुने गरेको पीडितहरूको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार खतिवडाले अर्कै व्यक्तिको नागरिकता प्रयोग गरी आफूलाई ‘हरि तिमल्सिना’का रूपमा चिनाउँदै पीडितसँग रकम असुल्ने गरेका थिए ।

उनले चाबहिलमा अनुमति नलिई ‘दुबई डायमन्ड एचआर सर्भिस प्रालि’ नामको कार्यालयसमेत सञ्चालन गरेको प्रहरीले जनाएको छ । उक्त कम्पनीको म्यानेजिङ डाइरेक्टर आफू भएको भन्दै भिजिटिङ कार्डसमेत बनाएर पीडितलाई देखाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

ठगीका लागि उनले ६ जना कर्मचारीसमेत नियुक्त गरेको प्रहरीको भनाइ छ । पीडितबाट कर्मचारीका बैंक खातामा रकम जम्मा गर्न लगाउने र कर्मचारीबाट भने आफूले नगद लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

खतिवडाले स्लोभानिया, माल्दिभ्सलगायतका देश पठाउने भन्दै नक्कली हवाई टिकट, भिसा र वर्क परमिटजस्ता कागजातसमेत देखाएर पीडितसँग रकम माग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

ठगीमा परेका कर्मचारी तथा पीडितहरू खतिवडाले प्रयोग गरेको ‘हरि तिमल्सिना’ नामको नागरिकतामा उल्लेखित स्थायी ठेगानामा पुगेर खोजी गर्दा वास्तविक हरि तिमल्सिना अर्कै व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ ।

हालसम्म २५ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । उनीहरूले आवश्यक कारबाहीका लागि निवेदन दिएपछि अनुसन्धानका क्रममा खतिवडालाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका खतिवडालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस