
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको कलंकीस्थित केएफसीको आउटलेटमा अनुगमन गरेको छ । विभाग र डिभिजन कार्यालय काठमाडौँसहितको संयुक्त टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम केएफसीको कलंकी आउटलेटमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा केएफसीको भान्साको सरसफाइ सन्तोषजनक पाइएको विभागले जनाएको छ । शाकाहारी खानेकुरा तार्न प्रयोग गरिएको तेलको टीपीएम भ्यालु १५.५ प्रतिशत र मांसाहारी खानेकुरा तार्न प्रयोग गरिएको तेलको टीपीएम भ्यालु १८ प्रतिशत रहेको पाइएको विभागले जनाएको छ ।
त्यस्तै, प्रतिष्ठानमा पेस्ट कन्ट्रोल नियमित रहेको तथा कुखुराको काँचो मासु उचित तापक्रममा भण्डारण गरिएको पाइएको विभागले जनाएको छ । त्यस्तै म्यारिनेट गरिएको चिकेनको उपभोग्य मिति दुई दिन तोकिएको र सोही अवधिभित्र चिकेन तयार गरी बिक्री वितरण गर्ने गरेको पनि अनुगमनका क्रममा पाइएको छ ।
अनुगमनपछि विभागले फ्रिज तथा चिलरको (तापक्रम) क्यालिब्रेसन गर्न निर्देशन दिएको छ । साथै, तेलको प्रयोग नियमन गर्न एसओपी बनाई लागू गर्न र खाद्य स्वच्छता कायम गरी खाद्य पदार्थ बिक्री वितरण गर्न निर्देशन दिएको विभागले जनाएको छ ।
केन्टुकी फ्राइड चिकेन अर्थात् केएफसीको विक्री वितरण नेपालमा देवयानी इन्टरनेशनलले गर्दै आएको छ । अन्तर्राष्ट्रिय चेन रहेको केएफसीले आफ्नो खाद्य स्वच्छता नीति अनुसार नै काम गर्दै आएको बताएको छ ।
यसअघि नेपालमा केएफसी जस्तै नाम राखेर केकेएफसी खुलेको भए पनि ट्रेडमार्क विवादमा केकेएफसीले मुद्दा हारेको थियो ।