पुस्तौँको अनुभव संरक्षण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै सरकार

दियोपोस्ट संवाददाता

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउने प्रक्रिया अघि बढाएको छ । सरकारले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइलाई संरक्षण गरी नयाँ पुस्तासम्म हस्तान्तरण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको हो ।

३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा मात्र नभई ज्ञान, सीप र अनुभवका महत्वपूर्ण स्रोतका रूपमा स्थापित गर्ने उद्देश्यले यस्तो अवधारणा अघि सारेको हो।

मन्त्री सिता बादीले ज्येष्ठ नागरिकसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पत्ति भएको बताएकी छन्।

उनले डिजिटल प्रविधिको उपयोग गरी ज्येष्ठ नागरिकका अनुभवको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई संस्थागत गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाइएको बताइन्।

मन्त्री बादीका अनुसार यस पहलले एक पुस्ताले आर्जन गरेको ज्ञान र अनुभवलाई अर्को पुस्ताका लागि मार्गदर्शनका रूपमा विकास गर्दै अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई सुदृढ बनाउनेछ।

ज्येष्ठ नागरिकको अनुभवलाई ज्ञानका रूपमा उपयोग गरिने

मन्त्रालयले अनुभव बैंकमार्फत ज्येष्ठ नागरिकप्रतिको परम्परागत दृष्टिकोणलाई फराकिलो बनाउने लक्ष्य राखेको छ। सामाजिक सुरक्षा, स्वास्थ्य, हेरचाह र संरक्षणसँगै उनीहरूसँग रहेको ज्ञान, सीप र जीवनानुभवलाई समाज तथा भावी पुस्ताका लागि उपयोग गर्ने अवधारणा मन्त्रालयको छ।

ज्येष्ठ नागरिकले कृषि, उद्यम, शिक्षा, प्रशासन, कला-संस्कृति, परम्परागत ज्ञान, सामाजिक जीवन तथा विभिन्न व्यावहारिक क्षेत्रमा आर्जन गरेका अनुभवलाई डिजिटल माध्यमबाट अभिलेखीकरण गरिनेछ।

अनुभव बैंकलाई क्रमशः विकास गर्दै विद्यार्थी, युवा तथा नयाँ पुस्ताले ज्येष्ठ नागरिकका ज्ञान, सीप र जीवनका सिकाइबाट निःशुल्क रूपमा सिक्न तथा मार्गदर्शन लिन सक्ने माध्यमका रूपमा विकास गर्ने मन्त्रालयको योजना छ।

यसबाट दशकौँको अभ्यास र जीवनयात्राबाट ज्येष्ठ नागरिकले आर्जन गरेको ज्ञान तथा सीप सुरक्षित रहनुका साथै नयाँ पुस्तासम्म हस्तान्तरण हुने अपेक्षा गरिएको छ।

ज्येष्ठ नागरिक ज्ञानदाता पनि

मन्त्रालयले ज्येष्ठ नागरिकलाई राज्यबाट सेवा र सुविधा प्राप्त गर्ने लाभग्राहीका रूपमा मात्र नभई ज्ञान दिने, सीप बाँड्ने र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने ज्ञानदाताका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

मन्त्री बादीले ज्येष्ठ नागरिकको वास्तविक सम्मान उनीहरूको अनुभव सुन्ने, ज्ञानको सम्मानपूर्वक उपयोग गर्ने र सामाजिक तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको वातावरण निर्माण गर्ने अवस्थामा हुने बताएकी छन्।

बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ, शहरीकरण र जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, हेरचाह, एक्लोपन र सामाजिक सहभागितासँग सम्बन्धित नयाँ चुनौती देखिएको मन्त्रालयले जनाएको छ।

यस्ता चुनौतीबीच ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित, मर्यादित र अर्थपूर्ण बनाउनु परिवार, समुदाय, समाज र राज्य सबैको साझा दायित्व भएको मन्त्रालयको भनाइ छ।

‘ज्येष्ठ नागरिक अनुभव बैंक’ मार्फत ज्येष्ठ नागरिकको सम्मानलाई हेरचाह र संरक्षणमा मात्र सीमित नराखी उनीहरूको जीवनभरको ज्ञान र अनुभवलाई राष्ट्रको सम्पत्तिका रूपमा संरक्षण गर्दै नयाँ पुस्तासँग जोड्ने आधार तयार हुने मन्त्रालयले विश्वास गरेको छ।

सम्बन्धित खबर