इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपबाट बाहिरियो नेपाल

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालले इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएको निलम्बन तोकिएको समयभित्र फुकुवा नभएपछि नेपालले सहभागिता जनाउन नपाउने भएको हो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत असार १० गते अनिश्चितकालका लागि निलम्बन गरेको थियो । निलम्बन फुकुवा नभएपछि नेपालले साफ च्याम्पियनसिपमा सहभागिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको सेप्टेम्बर ३० सम्मको समयसीमा पनि गुमाएको हो ।

साफले यसअघि सेप्टेम्बर ३० सम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । तर, तोकिएको समयसीमासम्म निलम्बन फुकुवा नभएपछि बिहीबार संशोधित खेल तालिका सार्वजनिक गरिएको छ ।

यससँगै ३३ वर्ष लामो साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । सन् १९९३ मा सुरु भएको दक्षिण एसियाली फुटबलको यो प्रतियोगिताका यसअघिका सबै संस्करणमा नेपाल सहभागी हुँदै आएको थियो ।

यसपटक बंगलादेशमा आयोजना हुने १५औँ संस्करणको साफ च्याम्पियनसिपमा ६ टोली सहभागी हुनेछन् । समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् भने समूह ‘बी’ मा भारत, पाकिस्तान र माल्दिभ्स छन् । निलम्बन फुकुवा भएको भए नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्ने थियो ।

१५औँ साफ च्याम्पियनसिप आगामी नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।

सम्बन्धित खबर