
काठमाडौँ । नेपालमा यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको मौसमविद्हरूले बताएका छन् । हालको मौसमी अवस्था र प्रणालीको गतिविधि हेर्दा आगामी दसैँसम्ममा नेपालबाट मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ ।
मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार अहिले नेपालमा ठूलो वर्षा गराउने खालको उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन । छिमेकी भारतका अधिकांश भू-भागबाट समेत मनसुन बाहिरिसकेको छ ।
नेपालमा पनि अब पश्चिमी भू-भागबाट मनसुन बाहिरिने क्रम सुरु हुने संकेत देखिएको महर्जनले बताइन् । उनका अनुसार हालसम्म देखिएका मौसमी संकेतले दसैँसम्ममा मनसुन पूर्ण रूपमा बाहिरिन सक्ने सम्भावना देखाएको छ ।
‘अहिलेसम्मको संकेत हेर्दा दसैँसम्ममा मनसुन बाहिरिन सक्ने सम्भावना छ,’ मौसमविद् महर्जनले भनिन् । यस वर्षको दसैँको घटस्थापना असोज २५ गते र टीका कात्तिक ४ गते परेको छ । नेपालमा सामान्यतया जुन १३ आसपास मनसुन भित्रिने र अक्टोबर २ आसपास बाहिरिने गर्छ । यद्यपि मनसुनको आगमन र बहिर्गमनको औसत मितिमा वर्षअनुसार केही दिन तलमाथि हुने गरेको छ ।
मौसमविद्हरूका अनुसार मनसुन बाहिरिएपछि पनि वर्षा पूर्ण रूपमा रोकिने भने हुँदैन । स्थानीय मौसमी प्रणालीका कारण दसैँका समयमा समेत सामान्यदेखि हल्का वर्षा हुन सक्ने सम्भावना रहन्छ ।
मौसमविद् विनोद पोखरेलले पनि दसैँका बेला सिमसिमे वर्षा हुन सक्ने र त्यसका कारण चिसो बढेर जाडो महसुस हुन सक्ने बताएका छन् ।