
म्याग्दी । बाढी र पहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ । आयोजनाको रेलेखर्कको फेदीमा रहेको इन्टेक (बाँध)मा बाढी पसेर भौतिक संरचनामा क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा रोकिएको हो ।
ह्युम कन्सल्ट प्रालिको प्रवद्र्धनमा निर्माण भएको आयोजना गत वर्षदेखि सञ्चालनमा आएको थियो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षासँगै आएको बाढी र पहिरोले आयोजनाको बाँधमा क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको हो ।
रेलेखर्क क्षेत्रमा पहिरो खस्दा रेलेखोलामा बाढीको सतह बढेको थियो । बाढीले बाँध क्षेत्रमा ठूलो मात्रामा ढुंगा, माटो तथा गेग्रान थुपारेको छ ।
आयोजना स्थल भौगोलिक रूपमा विकट क्षेत्रमा रहेकाले क्षति पुगेको बाँधसम्म पुग्नसमेत समस्या भएको छ । पहिरोका कारण पहुँचमार्ग अवरुद्ध हुँदा बाढी र गेग्रान हटाएर आयोजनालाई पुनः सञ्चालनमा ल्याउन कठिनाइ भएको आयोजनाले जनाएको छ ।
बाढीले बाँधका भौतिक संरचनामा क्षति पुर्याएपछि विद्युत उत्पादन र बिक्री रोकिएको छ । आयोजनाको विद्युत २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।
यसैबीच कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले आयोजनाको प्रसारण लाइनमा समेत क्षति पुर्याएको छ । बाढीले प्रसारण लाइनका केही टावर बगाउनुका साथै तार चुँडाएर क्षति पुर्याएको बताइएको छ ।
बाँध र प्रसारण लाइन दुवैतर्फ क्षति पुगेपछि आयोजना कहिलेसम्म पुनः सञ्चालनमा आउने भन्ने यकिन हुन सकेको छैन ।