
काठमाडौँ । सवारीसाधन दर्ता प्रक्रियामा देखिएका समस्या समाधान गर्ने विषयमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) बीच छलफल भएको छ ।
गत बुधबार नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारीसाधन दर्ता प्रक्रियामा देखिएका समस्या तथा समाधानका उपायबारे छलफल गरेको हो ।
छलफलका क्रममा महासचिव मल्लले चाडपर्व नजिकिँदै गएको र यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्तासम्बन्धी कामको चाप बढिरहेको अवस्थामा सीमित जनशक्तिका कारण सेवाग्राही तथा कम्पनीका प्रतिनिधिले समयमै सेवा पाउन कठिनाइ भइरहेको बताए ।
उनले कम्पनीका प्रतिनिधिले आवश्यक कागजात पेस गरी सवारीसाधन दर्तासम्बन्धी काममा सहजीकरण गर्दै आए पनि कार्यालयको नियमित प्रक्रिया तथा कर्मचारीको कार्यचापका कारण दर्ता प्रक्रिया सम्पन्न गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेको बताए । यस विषयमा तत्काल सहयोग र समन्वय गर्न उनले प्रमुख जिल्ला अधिकारी पौडेलसँग आग्रह गरे ।
सोही क्रममा नाडाका सचिव तथा टू ह्विलर समितिका सभापति मेघराज पौडेलले २०८३ असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडा प्रतिनिधिले भेट गरी समस्या समाधानका विषयमा छलफल गरिसकेको जानकारी दिए ।
छलफलको अन्त्यमा प्रमुख जिल्ला अधिकारी पौडेलले सवारीसाधन दर्तासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग आवश्यक छलफल तथा समन्वय गर्ने प्रतिबद्धता जनाए ।
भेटघाटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा टू ह्विलर समितिका सदस्य योगेन गुरुङ र दीपक रौनियारको समेत उपस्थिति रहेको थियो ।