कैलालीमा च्याउ टिप्न गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु

दियोपोस्ट संवाददाता

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ चरीडाँडाका ४० वर्षीय कृष्ण चौधरी रहेका छन्।

प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी टोली बिहान ८ः४५ बजे घटनास्थल पुगेको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस