रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनद्वारा २ लाख भन्दा बढी सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवामा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

एशोसिएसनले संकलन गरेको सहयोग रकमको चेक अर्थसचिव घनश्याम उपाध्यायलाई हस्तान्तरण गरिएको हो । एशोसिएसनका अध्यक्ष कामेश्वर प्रसाद सिंहको नेतृत्वमा गएको टोलीले अर्थसचिव उपाध्यायलाई चेक हस्तान्तरण गरेको जनाएको छ।

रसुवामा आएको बाढीका कारण जनधनको क्षति हुनुका साथै स्थानीयको जनजीवन प्रभावित भएकाले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको एशोसिएसनले जनाएको छ।

एशोसिएसनका अध्यक्ष सिंहले प्राकृतिक विपद्का समयमा राज्यको उद्धार तथा राहत अभियानलाई सहयोग गर्नु नागरिक तथा पेशागत संस्थाको साझा दायित्व भएको बताए। यही सामाजिक उत्तरदायित्वअन्तर्गत सदस्य तथा शुभेच्छुकबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरिएको उनको भनाइ छ।

चेक हस्तान्तरण कार्यक्रममा एशोसिएसनका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता थियो । टोलीले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायलाई आग्रहसमेत गरेको थियो।

 

सम्बन्धित खबर

सिफारिस