जगदम्बा मोटर्सले नेपालमा ल्यायो स्याकम्यानका विद्युतीय हेभी ट्रक, मूल्य २ करोडभन्दा माथि

दियोपोस्ट संवाददाता

काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा एक्स- ५०००ई ६×४ विद्युतीय हेभी-ड्युटी व्यावसायिक सवारीसाधन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले स्याकम्यान ‘एक्स -५०००-ई’ ६×४ इलेक्ट्रिक प्राइम मुभर र ‘एक्स-५०००ई’ ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ‘एक्स -५०००ई’ इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि उपयुक्त छ । त्यस्तै, इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ-रोड सञ्चालनका लागि डिजाइन गरिएको हो ।

दुवै मोडलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेनसँगै फास्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ तथा इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ। यी प्रविधिले व्यावसायिक क्षेत्रमा चुनौतीपूर्ण परिस्थितिमा सवारीसाधनको प्रभावकारी तथा भरपर्दो सञ्चालनमा सहयोग गर्ने कम्पनीको दाबी छ ।

स्याकम्यान ‘एक्स -५०००ई’ ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ भने ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

दुवै मोडलमा चालकको आराम र सञ्चालन प्रभावकारितालाई ध्यानमा राखेर एयर-सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ र ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले लगायतका सुविधा उपलब्ध छन् । साथै, हेभी-ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा नियन्त्रण प्रणालीसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

यी दुई विद्युतीय मोडलको आगमनसँगै जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोलाई विद्युतीय हेभी-ड्युटी सेग्मेन्टमा विस्तार गरेको छ । कम्पनीले यी सवारीसाधनमार्फत नेपालको यातायात, निर्माण, खानी तथा औद्योगिक क्षेत्रमा विद्युतीय मोबिलिटीका नयाँ विकल्प प्रस्तुत गर्ने जनाएको छ ।

हेर्नुहोस् तस्बिरहरु:

सम्बन्धित खबर

सिफारिस