
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभाले सेयर धनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । शुक्रबार काठमाडौँस्थित नेपाल पुलिस क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट बैंकको चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ । सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ९० प्रतिशतले बढी हो । यस्तै, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको जनाएको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सेयर धनीको विश्वास र निरन्तर साथप्रति आभार व्यक्त गरे । उनले ग्राहक, सेयर धनी, नियामक निकाय तथा शुभेच्छुकको सहयोगकै कारण बैंकले दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता उनले व्यक्त गरे । ग्राहकलाई सहज र अत्याधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गरिने उनले जानकारी दिए ।
सभाले बैंकको प्रबन्ध पत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ । साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ ।
सभामा नियमनकारी निकायका प्रतिनिधि, सेयर धनी, संस्थागत लगानीकर्ता तथा सञ्चारकर्मीको उपस्थिति थियो।
आधुनिक प्रविधि र ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ /२०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ । यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ / २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका पुरस्कार प्राप्त गरेको छ ।
यसैबीच, हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तथा कर्मचारीको एक दिनको तलब बराबरको रकमसहित कुल ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ ।