
काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत २१ हजार रुपैयाँको ल्युब आयल खरिद गर्ने एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन् । कार्यक्रमअन्तर्गत असोज महिनाको पाक्षिक पुरस्कार अन्तर्गत पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका हुन् ।
कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएका हुन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा उपहार विजेता घोषणा गरेका हुन्।
विजेता कानुलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले फोनमार्फत बधाई दिँदै पुरस्कार लिन नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए ।
त्यसमध्ये नगद कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार थिए भने अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार थिए ।
यस अवधिमा दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताको कुपनसमेत सार्वजनिक गरिएको छ ।
