हिम्लुङ हिमपहिरोमा हराएका मध्ये १५ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

दियोपोस्ट संवाददाता

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमाल क्षेत्रमा असोज ११ गते राती गएको भीषण हिमपहिरोमा परी वेपत्ता भएका १५ जना नेपाली कामदारको शव भेटिएको छ । घटनामा एक जना अझै बेपत्ता छन् ।

गत असोज २ गते काठमाडौँबाट हिमाली पदयात्रा तथा आरोहण व्यवस्थापनका लागि हिमालय होलिडे कम्पनीका २१ जना र इमेजिङ नेपालका ६ जना गरी २७ जनाको टोली हिम्लुङ हिमाल क्षेत्रमा बेस क्याम्प स्थापना गर्न पुगेको थियो ।

असोज ११ गते राति करिब १२ः४५ बजे उक्त क्षेत्रमा भीषण हिमपहिरो खस्दा उनीहरू त्यसमा पुरिएका थिए । हिमपहिरोमा परेकामध्ये ११ जनाको सकुशल उद्धार गरिएको थियो भने १६ जना सम्पर्कविहीन भएका थिए ।

घटनापछि निरन्तर सञ्चालन गरिएको खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १५ जनाको शव फेला परेको उद्धार टोलीले जनाएको छ । एक जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ । फेला परेका शवमध्ये सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ का ५२ वर्षीय छेवि भोटे र भोटखोला-२ का ३१ वर्षीय पासाङ भोटे छन् ।

त्यस्तै, गोरखाको धार्चे गाउँपालिका-२ का ३० वर्षीय विरेन्द्र गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका-९ का ४५ वर्षीय घनश्याम राई, ऐसेलुखर्क-७ का ४० वर्षीय लक कुमार गुरुङ र ऐसेलुखर्क-३ का २१ वर्षीय सुरज राईको पनि शव फेला परेको छ ।

रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका-५ का ५७ वर्षीय कलम बुढा, काभ्रेपलाञ्चोकका ३५ वर्षीय बिर्ख ध्वज तामाङ र ३४ वर्षीय जगत तामाङ, सिन्धुपाल्चोकका ५७ वर्षीय उर्ख ध्वज बोहोरा तथा ओखलढुङ्गाका ६३ वर्षीय प्रेम तामाङ पनि मृत भेटिएका छन् ।

त्यसैगरी गोरखाका ५८ वर्षीय आश गुरुङ र दोलखाका ४७ वर्षीय कृति बहादुर तामाङको शव पनि फेला परेको छ । वतन र उमेर नखुलेका ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङको समेत शव फेला परेको उद्धार टोलीले जनाएको छ ।

हिमपहिरोमा परी बेपत्ता भएका ओखलढुङ्गाका ३८ वर्षीय पासाङ नुरी शेर्पाको भने हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन । उनको खोजीका लागि उद्धार टोलीले अभियानलाई तीव्र बनाएको जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस