
काठमाडौँ । एनआईसी एसिया बैंकले नेपालमै पहिलोपटक ई–कमर्स पेमेन्ट गेटवेमार्फत एप्पल पे र गुगल पेबाट भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंकको ई-कमर्स पेमेन्ट गेटवे ‘साइबरसोर्स’मा आबद्ध तथा आबद्ध हुन चाहने मर्चेन्ट ग्राहकले अब विश्वभरका एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यस सेवामार्फत एप्पल पे तथा गुगल पेमा टोकनाइज गरिएको भिसा र मास्टरकार्ड प्रयोग गरी अन्तर्राष्ट्रिय ग्राहकले भौतिक कार्ड प्रयोग नगरी सहज र सुरक्षित रूपमा नेपाली व्यवसायीलाई भुक्तानी गर्न सक्नेछन्।
बैंकका अनुसार विशेषगरी होटल, टुर्स एन्ड ट्राभल्स, हस्तकला, एयरलाइन्स, ई-कमर्स र आईटी क्षेत्रका व्यवसायीले यस सुविधाबाट लाभ लिन सक्नेछन्। साइबरसोर्समा आबद्ध मर्चेन्टले आफ्नो ई-कमर्स प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे र गुगल पेका माध्यमबाट भुक्तानी लिन सक्नेछन्।
एप्पल पे र गुगल पे विश्वव्यापी रूपमा प्रयोग हुने मोबाइलमा आधारित भुक्तानी माध्यम हुन्। यी सेवामार्फत ग्राहकले आफ्नो कार्डको विवरण मोबाइलमा टोकनाइज गरी कार्डको वास्तविक विवरण प्रयोग नगरी भुक्तानी गर्न सक्नेछन्।
बैंकले यस सुविधाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि परिचित, सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्न सहयोग पुग्ने जनाएको छ। विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई-कमर्स, आईटी तथा निर्यातजन्य व्यवसायले अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्न यसबाट थप सहजता हुने बैंकको विश्वास छ।
बैंकका अनुसार नयाँ भुक्तानी सेवाले अन्तरदेशीय भुक्तानीलाई सहज बनाउनुका साथै नेपाली व्यवसायको अन्तर्राष्ट्रिय बजार विस्तार र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै, यसले नेपालको पर्यटन प्रवर्द्धन र डिजिटल भुक्तानी प्रणालीको विकासमा समेत योगदान पुग्ने बैंकले जनाएको छ।