विकल पौडेलले ४१ करोड ९४ लाख गैर कानुनी सम्पत्ति आर्जन गरेको ठहर, २ वर्ष ६ महिना जेल सजाय हुने

मदन ढुङ्गाना

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले गैर कानुनी सम्पत्ति आर्जन गरेको अदालतले ठहर गरेको छ । शुक्रबार विशेष अदालत काठमाडौँले पौडेलले करिब ४२ करोड रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै २ वर्ष जेल सजायसमेत तोकेको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्य तथा सदस्यहरू न्यायाधीशद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले गरेको फैसलामा गैर कानुनी सम्पत्ति आर्जनतर्फ पौडेलले ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ ८५ पैसा गैर कानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको हो ।

विशेष अदालतको फैसलामा पौडेलले २०६१ चैत १५ गतेदेखि २०७९ चैत ३० गतेसम्मको अवधिमा ४ करोड १६ लाख ७९ हजार १८ रुपैयाँ ७९ पैसा वैध आय गरेको तर सोही अवधिमा ४६ करोड ११ लाख ५२ हजार ३०१ रुपैयाँ १२ पैसा खर्च गरेको पाइएको भन्दै ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ ८५ पैसा गैर कानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको हो ।

पौडेल भ्रष्टाचार र गैर कानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर हुँदा उनी सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा भएको कारण उनलाई थप ६ महिना कैद सजाय हुने भएकाले पौडेलले कुल २ वर्ष ६ महिना कैदमा बस्नुपर्ने भएको हो ।

विशेष अदालतले आफ्नो फैसलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्वीकार गरेको केही आम्दानीलाई भने अदालतले स्वीकार गरेको छ । त्यसैगरी पौडेलकी श्रीमती एलिना बस्नेतको केही कमाइलाई पनि अदालतले मान्यता दिएर बिगो केही कमी गरिदिएको छ ।

विशेष अदालतको संक्षिप्त फैसलामा भनिएको छ, ‘प्रतिवादी विकल पौडेलको जाँच अवधि २०६१।१२।१५ देखि २०७९।१२।३० सम्मको अवधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खण्डीकरण गरी विभिन्न अवधि कायम गरी सो खण्डीकृत हरेक अवधिको आय व्यय हिसाब गरेको कार्य सम्मानित सर्वोच्च अदालतबाट यस्तै प्रकृतिका मुद्दाहरूमा प्रतिपादित सिद्धान्त अनुकूल नदेखिएको र समग्र जाँच अवधिलाई खण्डीकरण गर्नुपर्ने कानुनी आधार तथा औचित्य समेत नदेखिएको हुँदा प्रतिवादीको समग्र जाँच अवधिलाई खण्डीकरण गरी आय व्यय गणना गरेकोलाई मान्यता दिन मिलेन ।’

वैध आय ४ करोड १६ लाख मात्रै

विशेष अदालतले पौडेलको जाँच अवधिको आयका विभिन्न शीर्षकहरू विश्लेषण गर्दा ४ करोड १६ लाख ७९ हजार १८ रुपैयाँ २७ पैसा मात्रै वैध आय कायम गरेको छ । तलब भत्तातर्फ ३० लाख ९२ हजार ५ रुपैयाँ ६९ पैसा, शेयर बिक्रीबाट २७ लाख ७२ हजार २९७ रुपैयाँ, बैंक खातामा प्राप्त रकमतर्फ ७३ लाख ७७ हजार ६५० रुपैयाँ, अंश भरपाईबाट प्राप्त २५ लाख रुपैयाँ, विप्रेषण आयतर्फ २ करोड ४५ लाख २४ हजार रुपैयाँ, ऋण सापटीतर्फ ४ लाख ५९ हजार ५०० रुपैयाँ र बैंक ब्याजतर्फ २ लाख ७८ हजार ५६५ रुपैयाँ ५८ पैसा मात्रै वैध आयका रूपमा गणना गरिएको छ ।

विप्रेषणका रूपमा आयोगले ५० लाख ८२ हजार २४० रुपैयाँ मात्र कायम गरेकोमा प्रतिवादीको पत्नी एलिना बस्नेतको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खातामा बस्नेत आफैले पठाएको रकम समावेश गर्दा खुद २ करोड ४५ लाख २४ हजार रुपैयाँ कायम हुनुपर्ने अदालतले ठहर गरेको छ ।

पौडेलका अधिकांश जिकिर अदालतबाट अस्वीकृत

विकल पौडेलले थप आयका शीर्षकहरूमा लिएको जिकिर अदालतले अस्वीकार गरिदिएको छ । घरजग्गा बहालतर्फ २ करोड ९० लाख २१ हजार ४६० रुपैयाँ आय गणना हुनुपर्ने जिकिरमा अंश भर्पाई गरी अलग भिन्न हुँदा कुनै पैतृक घरजग्गा प्राप्त गरेको नदेखिएको र घरजग्गा बहाल बापत परिवारका अलग भिन्न भएका व्यक्तिको नाममा रहेको घरजग्गाको आयस्ता प्रतिवादीको आयमा समावेश गर्न नमिल्ने ठहर गरेको छ ।

यसै गरी सवारी साधन विक्रीतर्फ ३८ लाख ५० हजार रुपैयाँ, विदेशी मुद्रा सटहीतर्फ २२ लाख ३८ हजार ७८७ रुपैयाँ ३२ पैसा, वैदेशिक भ्रमण भत्तातर्फ १९ लाख ३६ हजार ६९६ रुपैयाँ ५३ पैसा, जग्गा विक्रीतर्फ २३ लाख ३९ हजार रुपैयाँ र कम्पनीबाट प्राप्त लाभांशतर्फ ९२ लाख २३ हजार १६२ रुपैयाँ २१ पैसा समेत आयमा समावेश गर्न नमिल्ने अदालतको ठहर छ ।

 

तर स्वदेशभित्र परामर्श सेवा प्रदान गरी विभिन्न सरकारी निकायबाट प्राप्त ६ लाख ७५ हजार रुपैयाँ भने आयमा समावेश हुने ठहर भएको छ । निजको नियुक्ति पत्रमा नै कार्यालय समयदेखि बाहेकको समयमा परामर्श समेतको कार्य गर्ने अनुमति प्रदान भएको र आफू कार्यरत रहे बाहेकका विभिन्न सरकारी कार्यालयमा परामर्श सेवा प्रदान गरी निजले तत् तत् कार्यालयहरूबाट रकम प्राप्त गरेको देखिँदा सो रकम आयमा समावेश हुने अदालतले ठहर गरेको छ ।

तर वैदेशिक परामर्श सेवा प्रदान गरी २७ करोड ७७ लाख ७५ हजार ३८४ रुपैयाँ ६१ पैसा आय आर्जन गरेकोलाई भने अदालतले वैध आय मान्न अस्वीकार गरेको छ। निज प्रतिवादीले नेपालभित्र सार्वजनिक पदमा रहेको अवस्थामा विदेशमा रहेका विभिन्न कम्पनी वा निकाय वा व्यक्तिहरूलाई सम्बन्धित विषयमा परामर्श दिन पाउने गरी सम्बन्धित निकायबाट अनुमति प्राप्त गरेको नदेखिएको अवस्थामा निजले जाँच अवधिमा विदेशमा परामर्श सेवा उपलब्ध गराएको कार्यले कानुनी मान्यता प्राप्त गर्ने अवस्था समेत देखिँदैन भन्ने अदालतको ठहर छ ।

व्यय ४६ करोड ११ लाख

विशेष अदालतले पौडेलको जाँच अवधिको कुल व्यय ४६ करोड ११ लाख ५२ हजार ३०१ रुपैयाँ १२ पैसा कायम गरेको छ । सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकमा रहेको प्रतिवादीको नाममा खोलिएको बैंक खाताहरूमा जम्मा भएको २५ करोड २३ लाख ४५ हजार ७४२ रुपैयाँ ७३ पैसा विदेशी बैंक मौज्दात व्ययमा गणना गर्नुपर्ने ठहर गरेको छ ।

अमेरिकास्थित बैंक अफ अमेरिकामा निज र निजको पत्नी एलिना बस्नेतको नाममा रहेको संयुक्त खातामा रहेको ३ करोड ७२ लाख २९ हजार ९४७ रुपैयाँ बराबरको रकमको हकमा भने निज एलिना बस्नेत अमेरिकामा चिकित्सक पेसामा कार्यरत रहेको र निजले विभिन्न निकायमा काम गरी तलब÷पारिश्रमिक प्राप्त गरेको प्रमाणबाट खुल्न आएको देखिएको भन्दै उक्त रकम प्रतिवादीको व्ययमा गणना गर्न नमिल्ने अदालतले ठहर गरेको छ ।

अमेरिकास्थित रबिनहुड सेक्युरिटिजमा गरिएको लगानी बापतको ८ करोड ४७ लाख ६० हजार ४४६ रुपैयाँ ८८ पैसा र सोही कम्पनीको धितोपत्र खरिदमा लगानी गरेको ४ करोड ६२ लाख ३६ हजार ८२९ रुपैयाँ २२ पैसा पारस्परिक कानुनी सहायता सम्बन्धी ऐन बमोजिम प्राप्त प्रमाण कागजातहरूबाट समर्थित भएको भन्दै आयोगले व्ययमा गणना गरेका मिलेको अदालतको ठहर छ ।

विद्युतीय माध्यमबाट खर्च गरेको ९६ लाख ७९ हजार १८२ रुपैयाँ ८४ पैसा, विदेशमा बिमा शुल्क भुक्तानी २ करोड ४४ लाख ६३ हजार ८२२ रुपैयाँ २७ पैसा, हवाई यात्रा तथा विदेश भ्रमण २ करोड १९ लाख ६८ हजार १५२ रुपैयाँ ७९ पैसा, पत्नीको नाममा अमेरिकामा लगानी १ करोड ५२ लाख ७० हजार ७४० रुपैयाँ, अध्ययन खर्च ३ लाख ७३ हजार ३९० रुपैयाँ, विवाह खर्च ३ लाख रुपैयाँ, स्वदेशमा बिमा शुल्क १ लाख ६३ हजार ७३५ रुपैयाँ, स्वदेशी बैंकमा नगद मौज्दात ४ लाख १६ हजार ६१८ रुपैयाँ, स्वदेशमा शेयर खरिद ५१ लाख १२ हजार ६९४ रुपैयाँ र ऋण सापटी तिरेको ७० हजार ९४७ रुपैयाँ ३९ पैसा व्यय कायम भएको छ ।

दोहोरो खर्च अस्वीकृत

विदेशी बैंकबाट ट्रान्सफर गरेको भनिएको ३ करोड ७७ लाख ९१ हजार एक सय रुपैयाँलाई विदेशी बैंकमा रहेको रकम व्ययमा गणना गरिसकिएको हुँदा दोहोरो हुने गरी व्ययमा समावेश गर्न नमिल्ने अदालतको फैसलामा उल्लेख छ ।

पौडेलका बाबु धर्मप्रसाद पौडेलको नाममा भएको भनिएको १ करोड ७५ लाख ३६ हजार १६४ रुपैयाँ ५ पैसा र आमा शीतल पौडेलको नाममा भएको भनिएको १ करोड १७ लाख २५ हजार रुपैयाँ लगानी समेतको हकमा बैंकिङ प्रणालीबाट प्रतिवादीले सो बराबरको रकम लगानी गरेको नदेखिएको र प्रतिवादीका बाबुआमाको नाममा रहेको चल अचल सम्पत्तिको बारेमा आयोगले कुनै विश्लेषण गरेको नदेखिएको हुँदा त्यस्तो छुट्टिभिन्न भएका बाबुआमाको नाममा भएको भनिएको लगानीलाई प्रतिवादीकै व्यय मान्न मिलेन भन्ने अदालतको ठहर छ ।

हिरा, जवाहरत तथा सुन किनेर राखेको भन्दै कुल १ करोड २३ लाख ९३ हजार ८७५ रुपैयाँ बिगो कायम गरेकामा सोको बिल भर्पाई पेस हुन नआएको, बैंकिङ प्रणालीबाट सोबापत भुक्तानी भएको प्रमाण पेस हुन नआएको र हिरा, जवाहरत तथा सुन समेत बरामद भई दसीको रूपमा पेस गर्न नसकेको भन्दै त्यस्ता पदार्थहरूको अस्तित्व पुष्टि हुन नआएकाले त्यसलाई मान्यता दिन नसकिने भन्दै आयोगको दाबीलाई अदालतले अस्वीकार गरेको छ ।

४१ करोड ९४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन

यसरी अदालतले विकल पौडेलको कुल वैध आय ४ करोड १६ लाख ७९ हजार १८ रुपैयाँ २७ पैसा र कुल व्यय ४६ करोड ११ लाख ५२ हजार ३०१ रुपैयाँ १२ पैसा कायम गर्दा व्ययभन्दा आय ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ ८५ पैसा बढी देखिएको ठहर गरेको छ । सोही बराबरको सम्पत्ति निजले गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको फैसलामा उल्लेख छ ।

विशेष अदालतको फैसलामा भनिएको छ, ‘तसर्थ निज प्रतिवादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर्छ। अतः निज प्रतिवादी विकल पौडेललाई सोही ऐनको दफा २० को उपदफा (२) बमोजिम २ (दुई) वर्ष कैद र गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो बराबर ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ ८५ पैसा जरिबाना हुने, साथै सोही बिगो बराबरको सम्पत्ति समेत जफत हुने ठहर्छ ।’
अदालतले विकल पौडेललाई दोषी ठहर गरे पनि उनकी पत्नी, बुवा र आमाको हकमा भने सफाइ दिएको छ ।

सम्बन्धित खबर

सिफारिस