नवलपरासीमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

दियोपोस्ट संवाददाता

नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश-३–०१-००६ ख १५५३ नम्बरको बस आज बिहान दुर्घटना भएको हो।

प्रहरीका अनुसार चालकले बस नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको हो ।  बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने दुई जना सकुशल रहेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

मृत्यु हुनेमा जाजरकोट भेरी नगरपालिका-३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका-३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका-१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका-७ का २२ वर्षीय कृष कनौजिया रहेका छन्।

यस्तै, नामथर र ठेगाना नखुलेका करिब ४०-४२ वर्षीय एक पुरुषको पनि घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले जानकारी दिए ।

दुर्घटनामा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लालबहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी घाइते भएका छन्।

घाइतेहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको प्रहरीले जनाएको छ।